गर्भवतीलाई अण्डा उपहार

  • १९ मंसिर २०७६, बिहीबार
  • 2518 पटक पढिएको

ध्रुबसागर शर्मा , म्याग्दी १९ मंसिर । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयंसेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ ।


ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम अन्तरगत अन्डा बितरण गरिएको बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो । वडा कार्यालयबाट रकम विनियोजन गरि गर्भवती महिलाहरुलाई अण्डा प्रदान गरिएको हो ।


गर्भावस्थामा नियमित अण्डा सेवन गर्दा आमा र बच्चा दुबैलाइ पोषण युक्त्त खाना ,स्वास्थमा फाइदा, जन्मिने बच्चा सक्षम, तेज दिमाख शारीरिक र मानसिक वृद्धि बिकास मा सहयोग पुग्ने चिकित्सकहरुको भनाइरहेको छ ।
आगामी दिनहरुमा पनि ज्यामरुककोट स्वास्थ्य चौकीले गर्भवती अबस्थामा गर्भको जाँच गराउन आउँदा एक क्रेट अन्डा उपहार दिने वडाअध्यक्ष थापाले बताउनुभयो ।

त्यसैगरी सुत्केरी जाँचका लागि २४ घण्टा,३ दिन वा ७ दिनसम्म स्वास्थ्यकर्मी सुत्केरीको घरमा जाने र सो अवसरमा पनि प्रतिसुत्केरी १÷१ क्रेट अण्डा उपहार लैजाने निर्णय भएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रम वडाअध्यक्ष थापाको अध्यक्षता,स्वास्थ्य चौकी इन्चार्ज चन्द्रबहादुर मल्लको स्वागत र स्वास्थ्यकर्मी खगराज निउरेको संचालनमा सम्पन्न भएको थियो ।