खुकुरी प्रहारबाट म्याग्दीको रुममा प्रअ गम्भिर घाईते

  • २७ कार्तिक २०७६, बुधबार
  • 5813 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रअ गम्भिर घाईते भएकी छिन् । बुधवार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका थिए ।

बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खुकुरी प्रहार गरि आक्रमण भएको र उनी गम्भिर घाईते बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरि मणिपाल शिक्षण अस्पतालमा लगिएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिए ।

उनका अनुसार, घाइते भएकी पुनको कान, टाउको र हातमा कुखुरीले गम्भिर चोट लागेको छ । देब्रे हातका दुई वटा औँला समेत खुकुरी प्रहारबाट चुँडीएको शिक्षक पुनले जानकारी दिए । खुकुरी प्रहार गरेका पुन अहिले फरार रहेका छन् ।
उनको खोजीकार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । तुलनात्मक रुपमा बढी अपराधिक गतिविधि हुने गरेको रुमको शान्ति सुरक्षालाई मध्यनजर गर्दै हालै मात्रै जिल्ला प्रहरी कार्यालयबाट दुई साताको लागि स्थलगत रुपमा प्रहरी टोली खटाईएको थियो ।