आलेख : म्याग्दीका ग्रामीण सडक ‘मृत्यु मार्ग’ बन्दै

  • २४ कार्तिक २०७६, आईतवार
  • 2821 पटक पढिएको

कमल खत्री
बेनी, २४ कात्तिक । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक संगै क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकको लापरबाही र पुराना सवारी साधन रहेको पाइएको छ । मालिका –२ रुममा ध १ ज ५९५ नम्बरको जिप बिलबाङ गाउँ नजिकै दुर्घटना हुँदा जिपमा सवार करिब २२ बर्षिय सपबहादुर श्रीपाली र ४० बर्षका चन्द्रबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो ।

जिप सडकमै पल्टीएको भएपनि ज्यान गुमाएका दुबै जना जिपको छतमा सवार रहेकाले साँघुरो सडकबाट उनीहरु भिरमा खस्न पुगेका थिए । रुममा जिप दुर्घटना भएको तेस्रो दिनमै मालिका गाउँपालिका–७ बिममा ग १ ख ४४७६ नम्बरको मिनी बाईक्रो बस गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाले अकालमै ज्यान गुमाएका छन् । दरबाङदेखि बिम गाउँतर्फ जाँदै गरेको बस दुर्घटनामा परि ज्यान गुमाउनेमा ७० बर्षीय सतदेवी भट्टचन, ११ बर्षीया आयुसा जुग्जाली र ९बर्षका रवि जुग्जाली सहित गुल्मीको कालिगण्डकी गाउँपालिका–२ निवासी ३० बर्षीया विष्णु पाण्डे रहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

रुममा दुर्घटनामा परेको जिपमा १७ जना र बिममा दुर्घटनामा परेको बसमा ३३ जना सवार थिए । यि केहि प्रतिनिधि मुलक दुर्घटना हुन् । जिल्लाको ग्रामीण सडक ‘मृत्युमार्ग’ बन्ने जोखिम हरेक बर्ष बढ्दै गएको छ । चालु आर्थिक बर्षको कात्तिक तेस्रो सातासम्म जिल्लामा ५ वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाइसकेका छन् भने ७१ जना घाईते भएका छन् । हरेक बर्ष जिल्लामा सवारी दुर्घटनाबाट ठुलो मानविय क्षति हुने गरेको छ । हरेक दुर्घटनाको कारणहरुको खोजी र छानविन नहुने प्रचलनले दुर्घटना न्युनिकरणमा सरोकारवालाको चासो गएको देखिँदैन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार, म्याग्दीमा बिगत चार बर्ष यता सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक बर्ष २०७२/७३ मा ८ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ४५ जना घाईते, ०७३/७४मा १४ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ५२ जना घाईते, ०७४/७५ मा १४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ३२ जना घाईते, ०७५/७६ मा ७ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस अबधिमा १४ वटा जिप, १२ वटा ट्याक्टर, ९ वटा बस र ३ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । ‘‘ कच्ची ग्रामीण सडक दुर्घटनाको मुख्य कारण बनेका छन्, चालकको लापरबाही, पुराना सवारी साधन संगै साँघुरा र ग्रेड नमिलेको सडकका कारण अधिकाँश दुर्घटना हुने गरेको पाईएको छ’’– प्रहरी जवान पौडेलले भन्नुभयो । जिल्लामा कुल ५७७ किलोमिटर विस्तार भएको सडकमध्ये नगन्य मात्रामा सडक कालोपत्रे गरिएको छ भने अन्य सडकमा जम्मा साढे ७ किलोमिटर सडक मात्रै सवारी चलाउनको लागि उत्तम रहेको र अन्य सडकको अबस्था जिर्ण, साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको ग्रामीण भेगमा एउटै गाउँमा दर्जनौँ सडकका ट्याक निर्माण गर्ने गलत प्रवृतिले निरन्तरता पाउँदा सडकहरु स्तरीय बन्न सकेका छैनन भने सडकमा भएको लगानी समेत उपलब्धीविहिन बन्ने गरेको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तीन दिनको अवधिमा भएका दुई दुर्घटनाबाट भएको मानविय क्षतिले सिंगो गाउँपालिकालाई दुखित तुल्याएको बताउनुभयो । सवारी दुर्घटना सामान्य हेलचक्राइको कारण पनि हुने भएकाले सार्वजनिक यातयातमा निगरानी बढाउन आबश्यक रहेको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाले ग्रामीण सडकलाई स्तरीय बनाउनको लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको र कम्तीमा ६ मिटर फराकिलो बनाउने गरि सडक स्तरोन्नती थालिएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
                                        कच्ची सडकको जिल्ला
म्याग्दी जिल्लाका अधिकाँश गाउँ बस्ती सडक सञ्जालमा जोडिइसक्दा समेत जिल्लाभरको सडक कच्ची रहेको छ । सदरमुकाम बेनी, गलेश्वर, रत्नेचौरको बजार क्षेत्र कालोपत्रे भएपनि जिल्लाभरको सबै सडक कच्ची नै छ । जिल्लामा दुर्घटना बढ्नुको प्रमुख कारण जिर्ण र कच्ची सडक नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु बहादुर नेपालीले बताउनुभयो । अधिकाँश सडक कच्ची, खाल्टाखुल्टी र साँघुरो भएको र सवारी साधन समेत जिर्ण भएको कारण दुर्घटनाको जोखिम थप बढेको उनले बताए । ‘‘ दुर्घटना न्यूनीकरणमा मुख्य काम त सडकको स्तरोन्नती नै गर्नुपर्छ, त्यसमा दक्ष सवारी चालक र स्तरीय सवारी साधनको जरुरत पर्छ’’– कार्यालय प्रमुख नेपालीले भन्नुभयो ।

    ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु बहादुर नेपाली

जिल्लाको ग्रामीण भेगमा प्रयाप्त सार्वजनिक सवारी साधन नभएको कारण पनि एउटै सवारी साधनमा कोचिएर यात्रा गर्नुपर्ने र क्षमता भन्दा बढी भार बोक्नुपर्दा दुर्घटनाको श्रृङ्खला बढ्दो देखिएको प्रहरीको भनाई छ । कच्ची सडककै कारण सवारी साधनहरु समेत छिट्टै जिर्ण हुने समस्या समेत विद्यमान रहेको छ । दुर्घटना न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम सहित सदरमुकाम बेनी, सिंगातातोपानी, दरबाङ, भुरुङतातोपानीमा सवारी चेकजाँच पोइन्ट राखिएको छ । सवारी साधनको चाप अनुसार जनशक्ति व्यवस्थापन नहूँदा सवारी चेकिङ प्रभाबकारी बन्न सकेको छैन् । सार्वजनिक यातयातको प्रयोग गर्दा यात्रु समेत हतार नगरिकन सुरक्षित हुने गरि यात्रा गर्नतर्फ ध्यान दिन प्रहरीले अनुरोध गरेको छ ।
                              सडक विस्तारसंगै स्तरोन्नतीमा जोड दिनुपर्छ
म्याग्दीको केहि वडा बाहेक अधिकाँश गाउँबस्तीमा सडक सञ्जालको पहूँच पुगेको छ । तर ति सबै सडकको अबस्था जिर्ण छ । सडकको ट्याक निर्माण गरिएपनि सडकको अबस्था भने अत्यन्तै जिर्ण अबस्थामा छन् । अधिकाँश ग्रामीण सडक प्राविधिक रुपमा नापजाँच नगरि डोजर चालक र उपभोक्ता समितिका पदाधिकारीको भरमा मात्रै विस्तार गरिएका छन् । सडकलाई सुरक्षित बनाउनको लागि सडक स्तरोन्नती गर्ने र चालकहरु दक्ष हुन जरुरी रहेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

 

                     जिसस प्रमुख देवेन्द्रबहादुर  केसी

‘‘ सबैको ध्यान सडक विस्तारमा मात्रै गएको छ, सडक नपुगेका बस्तीमा नयाँ ट्याक आबश्यक छ, तर एउटै बस्तीमा थुप्रै सडक जोड्ने प्रवृत्ति हटाउनुपर्छ, सडकलाई स्तरीय बनाउनतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ’’–जिसस प्रमुख केसीले भन्नुभयो । अहिले जिल्लामा रहेका ६ वटै स्थानीय तहले सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । हरेक बर्ष सडकमा विनियोजन भएको बजेट योजनाबद्ध तवरले परिचालन नहुँदा सडक मर्मतको नाममा जोडर घुमाउने र असारे भलबाढीसंगै करोडाँै बजेट बगेर जाने गरेको छ । एउटै गाउँमा जाने सडक पनि एक भन्दा बढी खन्ने प्रवृतिले विस्तार भएका सडक स्तरोन्नतीमा बाधा उत्पन्न गराएको छ ।