पर्यटकको आकर्षणमा यारुजु भ्यूपोइन्ट

  • २४ कार्तिक २०७६, आईतवार
  • धिरन खत्री
  • 3011 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्ट पर्यटकहरुको आकर्षणमा परेको छ। दशै तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरु ३ हजार ७५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्यूपोइन्टमा पुग्ने गरेका छन् ।


थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनि गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण यारुजु भ्युपोइन्टमा पुग्ने गरेका छन् । याकको सिङजस्तो डाँडामा रहेको निर्माण गरिएको भ्युपोइन्टबाट धौलागिरि, निलगिरि, स्याङ, अन्नपुर्ण लगायतका हिमाल र चिनको कोरला नाका, कालिगण्डकी नदी, जोमसोम बजार, स्याङ र मार्फाको स्याउ बगैचा र ढुम्वाताल लगायतका दृष्यहरु नजिकबाट अवलोकन गर्न सकिन्छ ।


अन्नपुर्ण संरक्षण क्षेत्र एक्यापले १० लाख लगानीमा निर्माण गरिएको भ्युपोइन्टबाट दन्तेलहरजस्तै मिलेर बसेको दर्जनौ हिमालसंग फोटो खिच्ने भिड लाग्ने गरेको छ । सडक सुविधा पुगेको ठिनी हुदै सो भ्युपोइन्टमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको ठिनीका निरज थकाली बताउछन् ।

ठिनीमा रहेको १ सय १० घरको थकाली जातीको समुदायमा २०७४ बैशाखदेखि संचालन गरिएको होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासबस्न पुग्ने गर्दछन् । थकाली जीवनशैली, संस्कृति र इतिहास झल्काउने संग्रहालय, माटोले बनेको घर, स्याउको बगैचा, थकाली नृत्य लगायतको अवलोकनपछि विदेशी तथा स्वदेशी पर्यटक नजिक रहेको यारुजु भ्युपोइन्ट, गुफा र ढुम्वा ताल पुग्ने गर्दछन ।

प्राकृतिक सम्पदाले भरिपुर्ण यारुजु भ्यूपोइन्टको प्रचारप्रसार गर्न सकेमा मुस्ताङमा पुग्ने तिर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेर स्थानीयलाई रोजगार सिर्जना हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l