लायन्स क्लबद्धारा मल्लाजमा निशूल्क आँखा शिविर आयोजना

  • २४ कार्तिक २०७६, आईतवार
  • 2882 पटक पढिएको

बेनी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निःशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा हुने शिविरमा जलजला गाउँपालिका संगै छिमेकी म्याग्दीका विभिन्न ठाउँका मोतियाविन्दु सम्बन्धि समस्या भएका विरामीहरु लाभान्वित हुनेछन् ।

क्बलको शनिबार पर्वत बेनीमा बसेको तेस्रो नियमित बैठकले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा सञ्चालन हुने शिविरलाई सफल बनाउन तयारीलाई तिब्रता दिने र विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । शिविरको तयारीका लागि क्लबका हेल्थ डाईरेक्टर तुलसीराम रेग्मीको संयोजकत्वमा मुल समिति गठन गरिएको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।

आर्थिक उपसमितिमा चन्द्रबहादुर क्षेत्री, स्वयमसेवक परिचालन उपसमितिमा अर्जुन पौडेल र राजकुमार परियार, यातयातमा गोरखबहादुर जिसी, खाना र आवासमा रविन जिसीलाई संयोजक तोकिएको छ । मल्लाजको कोतघर परिसरमा आँखा परिक्षण र मल्लाज स्वास्थ्य चौकिमा शल्यक्रिया गरिने शिविरमा विरामीहरुलाई निःशुल्क चश्मा समेत वितरण गरिने क्लवका सचिब दलबहादुर जिसी(शिव)ले जानकारी दिनुभयो ।

आँखा सम्बन्धी समस्या भएका बिरामीलाई गाउँमै उपचार सेवा दिने उद्देश्यले मल्लाजमा पहिलो पटक सल्यक्रिया सहितको आँखा उपचार शिविरको आयोजना गरिएको क्लवका जोन चियर पर्सन दिलीप बरुवालले बताउनुभयो । शिविरमा आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रियाका साथै निशूल्क चश्मा वितरण गरिने जनाईएको छ । शिविरबाट जलजला गाउँपालिकाको माझफाँट, लेकफाँट, बाँसखर्क, शालिजा, धाइरीङ, पर्वत बेनी, बनौ, नाग्लीवाङ, म्याग्दीको नांगी राम्चे, बेनी र आसपासका बिरामीहरु लाभान्वित हुने क्लबले अपेक्षा गरेको छ ।