कोरला नाका : ‘चिनियाँ धमाधम पूर्वाधार बनाउँदै, नेपालतर्फ सुरक्षा बन्दोबस्तको तयारी’ (फाेटाे फिचर)

  • ४ कार्तिक २०७६, सोमबार
  • कमल खत्री
  • 2792 पटक पढिएको

कमल खत्री
बेनी ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आँशिक रुपमा हिमालले घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चिनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो । पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाईरहेको छ । नेपाल र चिन बिच भएको नाका खुलाउने सम्झौता अनुसार, ‘कोरला नाका’मा चिनीयाँ पक्षले भन्सार लगायतको प्रयोजनको लागि विशाल भवन निर्माण गरिसकेको छ ।

सिमानामा आफ्नो देशको राष्ट्रिय झण्डा फहराउँदै चीनले सुरक्षाको लागि पुलिस संगै सिमा नजीकै सेना समेत परिचालन गरिसकेको छ । नाका सञ्चालनकै लागि चिनीयाँ पक्षबाट नाका सम्म कालोपत्रे गरिएको सडक निर्माण गरी अन्य पूर्वाधार निर्माणलाई समेत तिब्रता दिइएको भएपनि नेपाली पक्षबाट भने पूर्वाधार निर्माण सुरु समेत हुन सकेको छैन् । चीनका राष्ट्रपति सी चिनफिङको भर्खरै भएको नेपाल भ्रमणपछि छिमेकी मुलुक चीनसँगको सिमाना कोरला नाका सञ्चालनबारे पुनः चौतर्फि चासो बढेपनि नाका सञ्चालनको आबश्यक तयारी र पूर्वाधार निर्माणमा नेपाल सरकारले आबश्यक कदम अघि बढाउन नसकेको लोमनथाङ गाउँपालिका–५ का वडा अध्यक्ष हिम्जिङ दोर्जे विष्टले बताउनुभयो ।

‘‘ नाका सञ्चालनको चासो सबैतिर छ, स्थानीय र प्रदेश सरकारले पनि यसलाई आफ्नो अभिन्न एजेण्डा बनाएका छाँै, पूर्वाधार निर्माणमा संघिय सरकारकै चासो जान जरुरी छ’’–अध्यक्ष विष्टले भन्नुभयोे । अहिले कोरला नाकामा २४ नम्बरको पिल्लर बाहेक सिमानामा नेपाली पक्षको कुनैपनि संरचना बनेको छैन । सिमानामा राष्ट्रिय पहिचानको कुनैपनि संरचना नबन्दा यस क्षेत्रका सरोकारवाला चिन्तीत बनेका छन् । नाका सञ्चालनको सम्झौता भएको बर्षौ बितिसक्दापनि भन्सार, सुरक्षा लगायतको पूर्वाधार र बन्दोबस्त नहुँदा नाका सञ्चालनबारे आशंका उत्पन्न भएको पोखराबाट कोरला नाकामा पुगेका बलबहादुर थापाले बताउनभुयो । ‘‘ चिनले आफ्नो भुमिलाई तारबार गरेर सुरक्षा गरेको छ, सुरक्षाको प्रवन्ध संगै भवनहरु पनि बनाइसकेछ, हाम्रो भुमिमा नत सिमाको सुरक्षा छ, नत राष्ट्रिय झण्डा नै फहराइएको छ’’–उहाँले भन्नुभयो । नाकामा पुग्ने सबैजसो नेपालीहरुले कम्तीमा राष्ट्रिय झण्डालाई फहराउनुपर्ने बिचार राख्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको औपचारिक भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो । कोरला नाकामा अहिले वर्षमा दुई पटक मात्रै मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँले सामान आयात र निर्यात गर्दै आएका छन् । यो नाकासँग उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर जोडिने भएकाले कोरला नाका सञ्चालनमा आए मुस्ताङमात्रै नभएर गण्डकी प्रदेशसहित मुलुककै लागि अन्तर–देशीय व्यापार र पारवहनको भरपर्दो ‘भाग्यरेखा’ तयार हुने अपेक्षा गरिएको छ ।

                                                                          ‘कुराले मात्रै नाका खुल्दैन’
कोरला नाका सञ्चालनको लागि काम भन्दा बढी कुरा मात्रै भएको लोमनथाङका स्थानीयको गुनासो छ । मुस्ताङको मात्रै नभएर साविक धवलागिरी क्षेत्रसंगै गण्डकी प्रदेशकै भाग्यरेखा मानिएको यस नाका सञ्चालनको लागि पूर्वाधार निर्माणको सुस्तता प्रमुख समस्याको रुपमा देखिएको लोमनथाङका स्थानीय अगुवा ज्ञानेन्द्र विष्टले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको लोमनथाङ गाउँपालिका अध्यक्ष समेत रहेका बिष्टले नाका खुलाउने सन्दर्भमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारले उच्च प्राथमिकता दिएर आबश्यक काम गर्नुपर्ने बताउँछन् । ‘‘ कोरला रणनीतिक र व्यापारिक महत्वको नाका हो, यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सके यसले मुलुककै लागि हित गर्छ, नाका खुल्ने आसा त छ, तर पूर्वाधार नभएसम्म कुराले मात्रै नाका खुल्न सक्दैन’’–बिष्टले भन्नुभयो ।

नाकालाई लक्षित गरि चीनले ९० प्रतिशत पूर्वाधार तयार गरिसकेको भएपनि नेपाली पक्षबाट भने पूर्वाधार निर्माणमा ढिलाई भएको मुस्ताङका प्रतिनिधि सभाका साँसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । ‘‘ चीनले सबै पूर्वाधार तयार गरिसकेको छ, अब नेपाली पक्षले पूर्वाधार निर्माण र एक चीन नीतिमा विश्वस्त दिलाउन सक्यौँ भने कोरला नाका निकट भविश्यमै खोल्न सक्छौँ’’–उहाँले भन्नुभयो । केहि समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकिय भ्रमण टोलीमा समेत सहभागी भएका साँसद तुलाचनले चिनीयाँ पक्ष कोरला नाका सञ्चालन गर्न आतुर रहेको पाएको बताउनुभयो ।

नाका सञ्चालनको लागि आबश्यक पूर्वाधार निर्माण गर्न आफुले अर्थमन्त्री र सम्बद्ध निकायलाई आबश्यक बजेट व्यवस्थापनको लागि निरन्तर ध्यानकर्षण गराएको उनको भनाई छ । सरकारले कोरला संगै चीन संग जोडिएका चार वटा नाका सुचारु गराउनको लागि भित्रि रुपमा आबश्यक कार्यलाई अघि बढाएको प्रतिकृया पाएको तुलाचनले जानकारी दिनुभयो । नाका परिसरमा एकिकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब १ हजार रोपनि जग्गा अधिकरणको काम सम्पन्न भैसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

                                             सिमा सुरक्षाको लागि सशस्त्रको पोष्ट स्थापना गरिने
कोरला नाका सञ्चालनको लागि पूर्वाधार संगै सुरक्षा बन्दोबस्तलाई समेत अघि बढाईएको छ । अहिले लोमनथाङमा सिमा प्रहरी चौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सिमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि १४ किलोमिटर यता नेचुङ्गमा सशस्त्र प्रहरी बलको पोष्ट स्थापना गर्ने तयारी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, बोर्डर आउट पोष्ट (बिओपी)को रुपमा सशस्त्रको पोष्ट राख्नको लागि जिल्ला सुरक्षा समिति मार्फत निर्णय गरि गृहमन्त्रालयमा पत्राचार गरिएको छ । तत्काललाई सशस्त्र प्रहरीको क्याम्प नेचुङ्ग भन्सार कार्यालय र बस्तु तथा सामाग्रीको परिक्षण गर्ने क्वारेन्टाइन भवनमा बसोबासको प्रवन्ध मिलाईने जनाईएको छ । तिहार लगत्तै पोष्ट राख्ने तयारी गरिएको छ ।

सो सशस्त्रको पोष्टले सिमा स्तम्भको निरिक्षण र सुरक्षा संगै राजश्व चुवावट रोक्न गस्ती गर्नेछ । तत्काललाई भन्सारको पूर्वाधारमा सशस्त्रको पोष्ट रहने भएपनि भवन लगायतको पूर्वाधार बनाउनको लागि नेचुङ्गमा शसस्त्रको पोष्टको लागि जग्गा प्राप्त समेत भैसकेको छ । नेचुङमा सशस्त्र संगै नेपाल प्रहरी, भन्सार, चेकजाँच स्थल लगायतको छुट्टाछुट्टै भवनको लागि १५० रोपनी बढी जग्गा प्राप्तीको काम सम्पन्न भैसकेको छ । यसअघि उपल्लो मुस्ताङ क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि २६ किलोमिटर नेपाल तर्फको भुभागमा पर्ने लोमन्थाङको लुंखुफाँटमा नेपाली सेनाको क्याम्प समेत स्थापना गरिसकिएको छ । जिल्ला सुरक्षा समितिले लोमन्थाङस्थित सीमा प्रहरी चौकीलाई क श्रेणीको इलाका प्रहरी कार्यालयको रुपमा स्तरवृद्धि गर्ने र इलाका प्रहरी कार्यालय छोसेरलाई सीमा प्रहरी चौकीको रुपमा रुपान्तरण गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापनको लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

                                                            बेनी–जोमसोम–कोरला सडक स्तरोन्नती सुस्तायो
पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक स्तरोन्नती आयोजना सुस्ताएको छ । कोरला नाका सञ्चालनको बलियो आधारको रुपमा लिईएको यो सडक स्तरोन्नती गर्ने योजनामा ढिलाई हुँदा यस क्षेत्रका सरोकारवाला चिन्तित बनेका छन् । आयोजना अन्र्तगत बेनी–जोमसोमको ७६ किलोमिटरको सडकमा विभिन्न ४ वटा प्याकेजमा सडक कालोपत्रे सहित स्तरोन्नती गर्न सुरु गरिएपनि निर्माण कार्य सुस्त बनेको छ । यस खण्डमा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

कोरला नाकाको आधार मानिएको सडक स्तरोन्नती गर्ने योजनालाई गति दिन आयोजना र सम्बन्धित निर्माण कम्पनीलाई निरन्तर ताकेता गरीएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । सडक आयोजनाको निरन्तर अनुगमन गरि म्याग्दी र मुस्ताङका सरोकारवालाले रचनात्मक दबाब सिर्जना गर्ने काम भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको निर्माण कार्य पछि धकेलिएको उहाँले बताउनुभयो । बेनी–जोमसोम खण्ड संगै जोमसोम–कोरला खण्डको सडक स्तरोन्नती कार्य समेत सुस्त छ ।

एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भएपनि समरदेखि भेङ्गेसम्म र चराङदेखि छोसेर खण्डको सडक स्तरोन्नतीको काम सुस्त बनेको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम मात्रै सकिएको छ । कोरला नाका सञ्चालनको लागि प्रमुख आधार मानिएको यस सडक आयोजना अन्र्तगत बेनी–जोमसोम सडक नालीसहित ११ किलोमिटर फराकिलो र कालोपत्रे सहितको हुनेछ । जोमसोम–कोरला सडक ११ मिटर चौडा हुनेछ र नाली, ग्याबिन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल बिछ्याउने गरि आयोजना सञ्चालन गरिएको हो ।

????????????????????????????????????
????????????????????????????????????

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l