बाढी पीडितलाई राहत

  • ५ आश्विन २०७६, आईतवार
  • 2791 पटक पढिएको

 

म्याग्दी, ५ असोज । बेनी नगरपालिका– २ बगरफाँटका बाढी पडितहरुलाई आइतबार राहत वितरण गरिएको छ । बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटीले बाढीमा वेपत्ता बालिकाहरुका आफन्त र घरबास गुमाएकाहरुलाई नगद तथा राहत सामग्री वितरण गरेका हुन् ।

बेनी नगरपालिकाले वेपत्ता प्रविना र अनुष्का परियारका अभिभावकलाई एक÷एक लाख रुपैयाँ राहत उपलब्ध गराएको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए । घर क्षति भएका दिपप्रसाद जुग्जालीलाई ५० हजार, माया परियारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । रेशम परियार, सेते किसान, रमेश परियार र बिष्णु परियारलाई आठ/आठ हजार रुपैयाँ दिइएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष थापा, राजेन्द्रकुमार श्रेष्ठ र कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले बाढी पडितलाई राहत वितरण गर्नुभएको थियो । कोटखोलामा आएको बाढी शनिबार राती धार परिवर्तन गरेर बस्तीमा पस्दा दुई जना बालिका वेपत्ता हुनुका साथै वुद्ध एकेडेमिको १८ कोठे भवन र स्थानीयको आठ वटा घरमा क्षति पुगेको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयले राहत सामग्री सहित तीन घरलाई १२÷१२ हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । आंशिक क्षति भएकालाई ८÷८ हजार रुपैयाँका दरले उपलब्ध गराएको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो ।

रेडक्रस सोसाइटीले त्रिपाल, भाडाकुडा र लत्ताकपडा उपलब्ध गराएको छ । बाढीका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । बेनी देखि बगरफाँट, भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडाँ र बरंजामा यातायात अवरोध भएको हो ।

बेनी खानेपानी उपभोक्ता संस्थाको दूधेखोलादेखि ल्याएको पाइपलाईन र एक वटा बल्क उद्योग पनि बाढीले पुरिएको छ । यस्तै बेनी–८ अस्पतालचोक स्थित ठाडो खोल्सामा आएको बाढीले अस्पतालचोक र कालीपुल बसपार्क डुवानमा परेका छन् । ––– सन्तोष गौतम