राहत कोष स्थापनाका लागि मेलाको आयोजना

  • ३० भाद्र २०७६, सोमबार
  • 2226 पटक पढिएको

 

बेनी, ३० भदौ । राहत कोष स्थापनाका लागि पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा विजयादशमी तथा दिपावली पर्वको अवसरमा मेला सञ्चालन गरिने भएको छ । जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा कला, संस्कृति, खेल क्षेत्रको विकास प्रर्वद्धन तथा संरक्षण, आन्तरिक पर्यटन विकास गर्ने उद्देश्यले असोज १२ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागिएको हो ।

कोत मन्दिर परिसरमा नवराज पुजा तथा विबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । सो मेला सञ्चालनबाट बचत भएको रकम विपन्न, गरिब र अशक्तको उपचार, विपद् व्यवस्थापनमा सघाउने परोपकारी अभियानका लागि कोष स्थापना गरिने संयोजक तथा वडा न.३ का अध्यक्ष देविन्द्रबहादुर भण्डारी (रवी)ले बताउनुभयो ।

हिमशुशेली युवा क्लवले सञ्चालन गर्दै आएको मेला गत वर्षदेखि वडा कार्यालयले सञ्चालन गरेका छन् । साविक मल्लाज गाविसमा रहेका अहिलेका तीन वटै वडालाई समेट्न गरि मेला सञ्चालन गर्न लागिएको आर्थिक संयोजक तथा वडा न. ४ का अध्यक्ष भिष्म मल्लले बताउनुभयो । मेलाको अवसरमा वडा स्तरीय पुरुष, महिला भलिबल, बास्केटबल, प्रौद्ध भलिबल, छेलो, अन्तर मावि स्तरीय नृत्य र पञ्चेबाजा प्रतियोगिता गरिने सदस्य सचिव नविन जिसीले बताउनुभयो । पुरुष भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ७६ हजार र ४६ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरी उत्कृष्ट टिमले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । बास्केटबल प्रतियोगितामा बिजेतालाई ४६ हजार, उपबिजेतालाई तीस हजार र उत्कृष्ट समूहलाई चार हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा बिजेतालाई बीस, उपबिजेतालाई सोह् र उत्कृष्टलाई एक हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । छेलोमा बिजेताले एघार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पञ्चेबाजा प्रतियोगिताको बिजेतालाई दश हजार, उपबिजेतालाई पाँच हजार, नृत्य प्रतियोगिताको बिजेतालाई पाँच हजार ५०० र उपबिजेतालाई तीन हजार ३०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

क्लशयात्रा, झाँकी प्रर्दशन सहित उद्घाटन गरिने मेलामा मौलिक संस्कृति झल्कने स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित तथा नृत्य पनि प्रस्तुत गर्ने योजना छ । वडा अध्यक्ष भण्डारीको संयोजकत्वमा मेला आयोजक र बिशाल अधिकारीको संयोजकत्वमा खेलकुद उपसमिति गठन गरीएको छ । विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन को तयारीलाई तिब्रता दिइएको छ ।