ग्रामीण पर्यटनबाट फेरियो ‘नाङ्गी’ गाउँको मुहार’

  • ३० भाद्र २०७६, सोमबार
  • कमल खत्री
  • 3561 पटक पढिएको

म्याग्दी, ३० भदौ । अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दैनिकी विताउँदै आएकी पुन अहिले हस्तकलाका सामाग्री (हातले बनाउने) कार्यमा व्यस्त छिन् । उनी मात्रै होइन्, सिर्जनसिल आमा समूहमा आवद्ध ३५ जना महिला मध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशिलतामा सदुपयोग गर्छन् । गाउँमा आउने पर्यटकहरुले झोला, टोपि, स्विटर, गलबन्दी लगायतका सामाग्री खरिद गरि लैजान थालेपछि हस्तकलामा उनीहरु उत्साहित बनेका छन् । फुर्सदको समयको सदुपयोगले उनीहरुको आयआर्जनमा समेत सुधार भएको छ ।


केहि बर्ष अघि सम्म चुलो चौकोमा मात्रै सिमित हुने महिलाहरु गाउँमा पर्यटकको आगमन बढेसंगै उद्यमशिलतामा समेत जोडिने अवसर सिर्जना भएको वडा सदस्य समेत रहेकी पुनले बताइन् । ‘‘पर्यटन विकासले नाङ्गीलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेलेको छ, यहाँ महिला, पुरुष कसैलेपनि समय खेर फाल्नु परेको छैन, घरगाउँमै बसेर आयआर्जनमा जोडिन पाएका छौँ’’– उनले भनीन् ।
सन २०११ देखी सञ्चालनमा आएको म्याग्दी र पर्वतको ग्रामीण भूगोल समेटीएको अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्या–पर्यटन पदमार्ग हुँदै नाङ्गी गाउँ क्षेत्रमा भम्रणमा आउने पर्यटकको सख्ंया बढ्दै गएपछि यस क्षेत्रको समृद्धिमा रचनात्मक सघाउ पु¥याएको छ । म्यागासेसे पुरस्कार विजेता नाङ्गीमै जन्मिएका महाविर पुन र बाँसखर्कका डाक्टर लक्ष्मण पुनको अवधारण अनुसार ग्रामीण भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र समुदायको विकास गर्ने उदेश्यले लघुउद्यम विकास कार्यक्रमसंगको सहकार्यमा सञ्चालन गरिएको यस पदमार्गको प्रचार प्रसार भएपछी पर्यटक आगमन बढ्दै गएको छ ।

पदमार्ग सञ्चालनमा आएको ८ बर्षको अवधिमा गाउँको अबस्थामा धेरै उतारचढाप आएको छ । परम्परागत खेती किसानी गर्नेहरु व्यवसायिक बनेका छन् । प्राङ्गारिक उत्पादन गरि पर्यटकलाई आर्गानिक स्वाद चलाउनुको साथै व्यवसायिक रुपमै आलु लगायतको तरकारी खेति गरि बार्षिक लाखौँको आलु निर्यात हुने गरेको छ । अन्यत्र खेतियोग्य जमिन बाँझो हुने क्रम बढीरहेको समयमा यहाँ भने व्यवसायिक कृषिसंगै युवाहरुले व्यवसायिक रुपमा बाख्रपालन गर्न थालेका छन् ।


पर्यटकको आगमन संगै गाउँमा स्थापना भएको सामुदायिक लज, हाते कागज उद्योग, हस्तकला उद्योगमा काम गर्ने अवसरसंगै कृषिमा व्यवसायिक बन्ने, जाम बनाएर आयआर्जन गर्ने लहर छाएको स्थानीय हिमाञ्चल माविका शिक्षक समेत रहेका कृष्ण पुर्जाले बताए । ‘‘पदमार्ग सञ्चालन नहुँदै केहि मात्रामा पर्यटकहरु क्याम्पिङको लागि आउने गर्थे, उनीहरु घुमेर फर्किन्थे, त्यसले यहाँका जनस्तरमा खास प्रभाब पारेको थिएन, अहिले २ ठाउँमा सामुदायिक लज छन्, त्यहाँ काम गर्ने सबै स्थानीय छन्, पदमार्ग सञ्चालनसंगै यहाँको आयआर्जन सुधारमा ठुलो टेवा पु¥याएको छ’’–उनले भने ।

अन्नपूर्ण–धवलागिरी सामुदायिक पदमार्गले समेटिएको नाङ्गी र मोहरेडाँडामा सञ्चालन गरिएको सामुदायिक लजबाट भएको आम्दानीलाई लजको क्षमता विस्तार, पदमार्ग निर्माण संगै सामुदायिक विद्यालयको शैक्षिक सुधार र भौतिक विकासमा खर्चिने गरिएको छ । नाङ्गीमा करिब १४० घरधुरीको बसोबास रहेको छ । केहि बर्ष अघि सम्म तिब्र गतिमा रहेको बसाइसराइको दर रोकिएको छ । कतिपय शहरी क्षेत्रमा झरेका स्थानीय समेत गाउँ फर्किएका छन् । पर्यटन मार्फत गाउँमै आयआर्जन हुने, विकास निर्माणले तिब्रता पाउन थालेपछि गाउँ छाडेर बाहिर जाने क्रम रोकिएको छ ।
नाँङ्गीको सामुदायिक लजमा एक सिजनमै १ हजार २०० पर्यटक भित्रिसकेको सामुदायिक लज व्यवस्थापन समितिका उपाध्यक्ष डमबहादुर फगामीले जानकारी दिए । उनका अनुसार, मोहरेडाँडामा घोरेपानी क्षेत्रबाट समेत बढी पर्यटक जाने भएकाले नाङ्गीको तुलनामा बढी पर्यटकको आगमन हुने गरेको छ । नाँगी क्षेत्रमा बार्षिक आन्तरिक तथा बाह्य पर्यटक गरि ५ हजारको हाराहारिमा पर्यटक भित्रन्छन् । सामुदायिक लजमा दैनिक ३० जनालाई राख्ने क्षमता रहेपनि बढी पर्यटक आगमन भएमा होमस्टेमा राख्ने गरिएको छ ।

गाउँमा स्तरीय स्वास्थ्य सेवा
नाँगीमा पर्यटनसंगै समृद्धि मात्रै भित्रिएको छैन, पर्यटककै कारण स्तरीय स्वास्थ्य सेवा समेत भित्रिएको छ । शहरी क्षेत्रबाट धेरै टाढा रहेकाले स्थानीय र पर्यटकहरुको स्वास्थ्य उपचारलाई लक्षित गरि फेट नेपालले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य केन्द्रबाट गाउँमै स्तरीय र बिशेषज्ञ सेवा प्रवाह हुने गरेको हो । भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने यस केन्द्रमा काठमाण्डौको मोडल अस्पतालसंगको सहकार्यमा विरामीहरुलाई टेलिमेडिसिन प्रविधि मार्फत समस्या पहिचान गरि स्तरीय सेवा प्रदान गरिन्छ । तीन बर्षदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रमा डाक्टरको समेत व्यवस्था गरेर सेवा प्रवाह हुँदै आएकोमा स्तरीय सेवाको निरन्तरताको लागि पहल चालिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका आर्थिक व्यवस्थापक संयोजक कृष्ण पुर्जाले बताए । उनका अनुसार, स्थानीयलाई लक्षित गरि व्यवस्थापन समितिले आफ्नै कार्यविधि बनाएर स्थानीय परिवेशमा आधारित स्वास्थ्य विमाको समेत योजना अघि सारिएको छ । स्वास्थ्य केन्द्रको निरन्तरताको लागि आर्थिक व्यवस्थापन, सर्वसाधारणलाई स्तरीय स्वास्थ्य सेवाको निरन्तरतामा जुटेको र सम्बन्धित सरोकारवालालाई आबश्यक सहयोगको लागि आह्वान गरिएको उनले बताए ।

ग्रामीण पर्यटनको जागरण
अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्या–पर्यटन पदमार्ग सञ्चालनमा आएसंगै गाउँमा खेतीकिसानी गरेका मानिसहरुमा पर्यटनको जागरण आएको छ । घरखर्च चलाउनको लागि पनि शहरदेखि विदेशसम्म पस्नुपर्छ भन्ने मान्यता हटेको छ । आफ्नो क्षमता र शिप अनुसार गाउँमै स्वरोजगार बन्ने लहर छाएको छ । रघुगंगा गाउँपालिका–३ घुमाउनेताल हुँदै पर्वतको बाँसखर्कदेखी सुरु भएर डाँडाकटेरी– नाङ्गी– मोहरे – डाँडाखर्क– टिकोट – खिवाङ्ग – स्वाँत – ढाँणखर्क – खोप्रा – पाउँदार हुँदै नारच्याङ्गबाट तातोपानी जाने गरि सञ्चालन भएको यस पदमार्गमा पर्यटनमैत्री व्यवहारमा सुधार, स्वरोजगार बन्ने लहर र वातावरण संरक्षणमा जागरुक बनाएको अन्नपुर्ण–धौलागीरी सामुदायिक पर्या–पर्यटन पदमार्गका सचिब चित्र तिलिजाले जानकारी दिए । ‘‘ मानिसको व्यवहार, बोली र लगनशिलतामा आउने परिवर्तन हेर्दा सामान्य हो, तर समाज परिवर्तनका आधारहरु यिनै हुन्, यो पदमार्ग सञ्चालनमा आएपछि पर्यटन विकासले गाउँको विकास र समृद्धिमा योगदान पु¥याउन थालेको छ’’–तिलिजाले भने । पदमार्गमा पर्यटक आगमन बढ्न थालेसंगै लज सञ्चालन गर्ने, आर्गानिक उत्पादन गर्ने, पर्यटक पथप्रदर्शकको काम गर्ने, पर्यटकका सामान बोक्ने रोजगारिका अवसर संगै कृषि र पशुपालन जस्ता सहायक पेशाहरु अंगालेर स्वरोजगार बन्नेक्रम बढेको उनले बताए । बनाउनेमा । गाईड छन्, प्रोटरपनि छन्, एक सिजनमा १ हजार पर्यटक भित्रन्छन् ।

पदमार्गको बिशेषता
अन्नपूर्ण–धवलागिरी सामुदायिक पदमार्गको मुख्य आकर्षणको रुपमा धौलागिरी र अन्नपूर्ण हिमालका मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन, सनराईज, सनसेट, चौरीपालन, अग्ला पडाहरुमा घना जंगल, विभिन्न प्रजातीका लालीगुराँस, मगर समुदायको मिलेको गाउँबस्ती, रहनसहन, कला संस्कृति रहेका छन् । यो पदमार्ग अन्र्तगत पर्यटकको सुविधाका लागी सञ्चालन भएका सामुदायिक लज र होमस्टेहरुमा स्थानीय उत्पादनको अर्गानिक खानाको स्वाद चखाउने गरिन्छ । करिब ११ दिनमा भम्रण गर्न सकिने उक्त पदमार्गमा पर्यटकहरुको सुविधाको लागी ठाउँ ठाउँमा सामुदायीक लज, डायनिङ्ग हल र होमस्टे र निजी लजहरु संगै होमस्टे समेत सञ्चालनमा रहेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l