तीन दिनदेखि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (तस्बिर सहित)

  • २४ भाद्र २०७६, मंगलवार
  • 2131 पटक पढिएको

म्याग्दी २४ भदौ । बेनी–जोमसोम सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो ।

पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको तयारी गरिएको छ । डोजरको सहायताले मात्रै ट्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर रिता बरुवालले जानकारी दिनुभयो ।

आईतवार विहान भत्किएको सडक मर्मतको काम भैरहेको छ, अप्ठ्यारो ठाउँ भएकाले मर्मतमा बढी समय लागेको छ ’’–बरुवालले भन्नुभयो । सडक अबरुद्ध बनेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा आवत जावत गर्ने सवारी साधन सिधा रुपमा ओहोर दोहोर गर्न पाएका छैनन् । यात्रुहरुले बिच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता आएको छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणले सास्ती भएको छ ।