म्याग्दीका लिटिल गार्डेन र ज्ञानप्रकाश उत्कृष्ट विद्यालयको सम्मानित

  • २३ भाद्र २०७६, सोमबार
  • 1780 पटक पढिएको

 

म्याग्दी २३ भदौ । बेनी नगरपालिका–८ को लिटिल गार्डेन एकेडेमी र अन्नपूर्ण गाउँपालिका – ३ दानाको ज्ञानप्रकाश माविलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)को औसत जिपिए नतिजाको आधारमा जिल्लाभरमा लिटिल गार्डेन र सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाशलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरेको हो ।

यसैगरी लिटिल गार्डेन एकेडेमीले बेनी नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरीय परिक्षामा पनि औसत जिपिएको आधारमा उत्कृष्ट नतिजा ल्याएको छ । सामुदायिक विद्यालयतर्फ बेनी नगरपालिका–९ नेप्टेचौरको राष्ट्रिय माविले कक्षा ८ को नतिजामा उछिनेको छ ।

४० आँै राष्ट्रिय शिक्षा एवम ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार बेनीमा जिल्ला र स्थानीय तह स्तरका उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो । बेनी नगरपालिका आयोजक र शिक्षा विकास तथा समन्वय इकाई सहआयोजक भएको कार्यक्रम महारानी थान स्थीत माउन्ट एभरेष्ट आवासीय माविमा गरिएको थियो ।

‘हामी सबैको प्रण– सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नारा भएको कार्यक्रम निजी विद्यालयमा आयोजना गरिदा नारासँग मेल नआएको भन्दै कतिपयले आलोचना गर्न थालेका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसिइइमा सहभागि भई उत्कृष्ट जिपिए ल्याउने विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गर्दै नगद पुरस्कार, प्रमाणपत्र र सम्मान गरिएको थियो ।

सो कार्यक्रममा बौल्दै जिसस प्रमुख केसीले शिक्षा मानव जीवनको आधार भएको बताउदै शिक्षामा भईरहेको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए । सरकारले दिएको निशुल्क सेवामा विश्वास नगर्ने मानसिकतालाई परिवर्तन गराउने तर्फ ध्यान दिन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको थियो।

शिक्षाको पाठ्यक्रम देशको भुगोलको स्रोतसाधनको आधारमा बैज्ञानिक र ब्यवहारिक बनाउन आवश्यक रहेको बताउदै यसको लागि राज्य गम्भिर बन्नुपर्ने जोड दिएका थिए ।