भ्रमण वर्ष – २०२० र एकवर्षे कार्ययोजना

  • २१ भाद्र २०७६, शनिबार
  • 1924 पटक पढिएको

रमेश भट्टराई / वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईको एक वर्षे कार्ययोजनाले आर्थिक विकास तथा पर्यटन विकासका धारलाई इङ्गित गरेको छ । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सराहनीय छ । करिब चार महिनाको समयभित्र भ्रमण वर्ष–२०२० लाई सफलीभूत गरेर देखाउने जिम्मेवारी मन्त्री भट्टराईको काँधमा छ, जसअनुसार अर्बौंको राजस्व विकास तथा १० लाखलाई रोजगारी दिलाउने परिकल्पना छ । त्यसो त सन् २०१७ तिरै २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको देखिन्छ ।

यद्यपि प्रशासनिक व्यवस्थापन र कार्यसम्पादनका बीचमा चुनौती र अवसरको विरोधाभास स्पष्ट देखिन्छ । उक्त योजनामा कानुनी सुधार तथा निगमको विकास, भ्रमण वर्ष–२०२० लाई विश्वभर सञ्चार गर्नेदेखि त्रिभुवन विमानस्थलको सुधारलगायतका योजनालाई प्रस्तुत गरिएको देखिन्छ । वास्तवमा सुविधासम्पन्न होटल, रिसोर्टदेखि अन्य प्राविधिक व्यवस्थापनमा मन्त्रीको एकल प्रयासले सफलता हात पर्न भने सम्भव छैन । फलतः राज्यले पाउनुपर्ने लाभ व्यक्ति वा निजी संस्थामा जाने सम्भाव्यता पनि रहन्छ ।
अतः सबै निकाय, संघ–संस्थालगायत सरोकार नागरिक समुदायमा अपनत्व भावको विकास भएमा यो भ्रमण वर्षले एक नवीन इतिहास कायम गर्न सक्ने आशा रहेको पनि देखिन्छ ।
सन् १९५२ बाटै पर्यटन विकासको पहल कदमी थालेको नेपालको इतिहासलाई हेर्दा २०११ सम्ममा करिब १० लाख विदेशी पर्यटकले नेपालमा भ्रमण गरेको बुझिन्छ । यद्यपि आजसम्म लक्ष्यभन्दा कम नै पर्यटकको आगमन भएका इतिहासबाट राज्यले पाठ सिक्न सक्नुपर्छ । २०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसँग गाँसेर हेर्दा २०१८ सम्ममा ११ लाख ७७ हजार विदेशी पर्यटक नेपालमा भित्रिए, जुन लक्ष्यभन्दा धेरै थोरै हो । फलतः आर्थिक समृद्धिका क्षेत्रमा यो भ्रमण वर्ष एउटा उदाहरणीय हुनका लागि नेपालले वातावरण र पर्यटन विकासका दुई पक्षमा सोच्नैपर्छ । यसबाट नेपालका हजारौँ जनताले रोजगार पाउने आशा गर्न सकिन्छ ।

यही भ्रमण वर्षमै भारतबाट ५ करोड र चीनबाट २० करोड नागरिक नेपालमा पर्यटकीय लक्ष्यका साथ आउने प्रक्षेपण गरेको छ । विश्वभरि डिजिटल मार्के्टिङदेखि प्रचाप्रसार तथा बुटिक विमानस्थल निर्माणार्थ खटेका भट्टराईले रोजगारीको सिर्जना, गरिबी निवारण तथा समावेशी विकासको जगमा आर्थिक विकासको चाखलाग्दो योजना तथा कार्यान्वयनका पक्षमा पहलकदमी गरिरहेको देखिन्छ । सालाखाला हिसाबलाई हेर्दा नेपालमा बर्से्नि करिब ५ लाख पर्यटक भ्रमण गर्नका लागि नेपाल आएको देखिन्छ । फलतः नेपालको अर्थतन्त्र विकासार्थ प्रदान गर्ने रोजगारीमध्ये करिब २० प्रतिशत सहयोग पुग्नुले पनि यो शुभकार्य केवल पर्यटन मन्त्रालयको मात्र जिम्मेवारी र दायित्व होइन । सबै आम जनता, सरकार या त सबैले समान स्तरमा रहेर जुट्नुपर्छ ।

विमानस्थलभित्र चुनौती र समस्याका चाङ छन्, यसर्थ जादुको छडीले जसरी सबै समस्यालाई हल गरिनेछ भन्नेमा भन्दा पनि सुधार हुनेछ भन्न सकिएला । लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषद्को नयाँ ऐनको प्रस्तावदेखि पर्वतीय पर्यटनसम्मका योजनालाई कानुनी तथा नीतिगत सुधारका योजनामा राखिएका विषय अवश्य पनि सराहनीय छन् । संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारीका विषय, नेपाल पर्यटन अध्ययन प्रतिष्ठान स्थापनाका नवीन योजनाले सोचमा निखार र पृथक्ता रहेको आँकलन गर्न सकिन्छ ।

अझ समय विभाजनसहितको एकवर्षे कार्य्विभाजनलाई हेर्ने हो भने नागरिक उड्डयन विकास र पर्यटनको सुधार तथा समृद्धिका योजनालाई देश र समयानुकूल तय गरेको देखिन्छ । अतः यसलाई कार्यान्वयन र सफल बनाउने मात्र हो भने पनि नेपालमा पर्यटन विकासको क्षेत्रमा एक नवीन कोसेढुङ्गा बन्ने आशा गर्न सकिन्छ । १० वटा स्रोत बजारको प्रावधानबाट विश्वव्यापी पर्यटन विकासको एउटा सुन्दर प्रयास हुने अपेक्षा गर्न सकिन्छ । नेपाललाई पर्यटन प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रूपमा विकसित तुल्याउन मन्त्री भट्टराईले राखेका योजनामा कुनै अभाव छ भनिरहनुपर्ने त देखिँदैन, तर व्यावहारिक कार्यान्वयनका तहमा समयको सही पालना र भनिएबमोजिम गुणस्तरीय व्यवस्थापन तथा सम्पादनका पाटामा ध्यान दिइने कुरामा सावधानी अपनाउनैपर्छ ।

नेपालमा अबको परिस्थितिमा अनगिन्ती सम्भाव्यता छन् भन्ने कुरामा लगभग सचेत नागरिक जानकार छन् । अझ विकासमा प्रभावकारी योजना बनाउने अभ्यासलाई कमी राखेको पनि देखिन्न, तर कार्यान्वयनकै तहमा अल्झिने, जुध्ने, लड्ने–भिड्ने गरेको विगतका इतिहासलाई चिर्नु चुनौतीको विषय हुन जान्छ । नागरिक उड्डयनका क्षेत्र विकासार्थ बनेका योजनाहरू, संस्कृति तथा पुरातत्व विकासका योजनालाई नियाल्दा विचारको गहिराइ खोतलेको अनुमान गर्न सकिन्छ ।

साथमा प्राविधिक व्यवस्थापन र प्रविधिकै आड र भरोसा गर्ने आजको युगको मागमा नेपालले उचित प्रयास गर्न सक्ने अवस्था जटिल हुन सक्ने देखिन्छ । नेपालको भौगोलिक, सामाजिक, सांस्कृति, प्राकृतिक, धार्मिक, ऐतिहासिक, धार्मिक लगायतका सम्पदाको विकासार्थ पर्यटन मन्त्रालय जुटिरहँदा वातावरणीय सजावट र सफासुग्घरमा लाग्नुपर्ने देखिन्छ ।
सेवा–सुविधाका ठूला र जटिल समस्या मात्रै भन्दा पनि सहज हल गर्न सकिने शौचालय, पार्किङ व्यवस्थापन, सहज र सभ्य वातावरण, सडक यातायात व्यवस्था र सुरक्षादेखि सम्भावित आधारलाई ध्यान दिइनु बढी वैज्ञानिक आधार बन्न सक्छ । पाहुनाका अगाडि प्रेमपूर्वक मीठो बोल्नुपर्ने विषय पनि सामान्य होइन । सरकारी तथा गैरसरकारी निकायसँग हातेमालो गर्ने प्रावधानले अबको भ्रमण वर्षले पृथक् फड्को माने अपेक्षा गर्ने प्राक्कल्पना तय हुन सक्छ ।

नेपालले हवाई चाप र ट्राफिक व्यवस्थापन, इन्धन मूल्यमा छिमेकीसँग समझदारी, कम पार्किङ शुल्क व्यवस्थापन, ट्रली, सञ्चार, शौचालय, सरसफाइ व्यवस्थापनदेखि अनलाइन भिसा र टिकटको सुलभ प्रबन्ध गर्न सक्नुपर्छ । सुनकाण्डका घटना घटेका छन्, तसर्थ सिसिटिभिको राम्रो प्रबन्ध, पार्किङमा भएको आडम्बरीपनालाई सुधारेर काठमाडौँलगायतका अन्य सहरमा फोहोर व्यवस्थापनका पक्षमा समेत ध्यान दिइनैपर्छ । साँच्चै भन्दा काठमाडौँमा घुम्न आएका आन्तरिक या बाह्य पर्यटकलाई राम्रोसँग चर्पीको सुविधा हुँदैन ।
लाजमर्दो कुरा तर सत्य हो । आन्तरिक र बाह्य कक्षमा भीडभाड हुन्छ । यसमा अन्तर्रा्ष्ट्रिय मापदण्ड विकासार्थ सभा, सम्मेलन र छुट्टै अध्यागमन काउन्टर खोल्नेदेखि विमानस्थलमा सेवारत कर्मचारीलाई आवश्यक सकारात्मक सोचसहितको सेवा विकासमूलक तालिम दिने विशेष योजनालाई सम्मान गर्नैपर्छ । पर्यटक केयरमा स्वास्थ्य, स्वागत, प्रेमभाव या त सहज परिवेशको कल्पना हुनुपर्छ । अतः पर्यटकले भ्रमण गर्नु भनेको घुम्नु मात्रै होइन, आफुले घुमेर अरूलाई पठाउनु पनि हो ।
हालैमा ३० पर्यटकीय गन्तव्यहरूको विकासार्थ सरकार कटिबद्ध छ । खुला आकाशको नीतिसँग हवाई सुरक्षासम्बन्धी प्रतिवेदन–२०१९ बाट पनि सुधारात्मक आधार तय भएको बुझिन्छ । मन्त्री भट्टराई काँधमा नेपाल वायुसेवा निगमको आजसम्मको जटिलतालाई सुधार गरी पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी सञ्चालन गर्न योग्य तुल्याउनु छ । उनले निजगढ विमानस्थललाई विदेशी लगानीमा सम्पन्न गर्ने आधार नपाए नेपालले आपैmँ गर्न सक्ने उद्घोष गरिसकेका छन्, तर वनविनाश हुने र प्रकृतिमाथि जटिलता थपिने विषय साँच्चै सोचनीय छ । सन् २०२१ अघि नै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने लक्ष्य छन् । देशका ध्वस्त सांस्कृतिक,पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई इतिहास नबिग्रने गरी सम्पन्न गराउनु छ । विकासले प्राकृतिक धरोहरलाई विनाश गर्नु नहुने पक्ष मननीय छन् । । उता वाइडबडी कान्डले पछि लागेर खेदिरहन्छ । नेपालमा ६० सिरिजका जहाज त ग्राउन्डेड छन् ।
सडक, विमानस्थल, होटलदेखि मूलतः पर्यटकीय गन्तव्य क्षेत्र सुधारका विषयमा ध्यान पु(याउनु छ । नागरिक उड्डयनको समस्याका कारण सन् २०१३ देखि युरोपले नेपाललाई कालोसूचीबाट हटाउन अस्वीकार चुनौतीलाई हेर्दा विश्वमा सरदर ६० प्रतिशतको मापदण्डमध्ये नेपालको ६६.५ रहेकाले अब उक्त समस्या हल हुने आधारलाई बताएका छन् ।
सावधानीको खाँचो
पर्यटन वर्षले नेपाली बजारका उत्पादनलाई, प्राकृतिक तथा सांस्कृतिक वैभवलाई विश्वबजारमा लैजान निजी तथा सरकारी सबै निकायले अपनत्वको भाव बोध गर्नुपर्छ । नयाँ गन्तव्य पहिचान गरी जनसचेतना, जनशक्ति व्यवस्थापन नगरिए समय र श्रम खर्चिने अनि बजेट उडाउने प्रपञ्चको खतराले लखेट्छ । हरेक वर्षलाई पर्यटन वर्ष बनाउन सक्ने खुबी भएको नेपालले आजसम्म यस विषयमा गहन विचार गर्न नसकेको देखिन्छ । विज्ञ र अनुभवी तथा जानकार व्यक्ति तथा निकायले अवसर नपाएर पनि नेपाल राजनीतिक भागबन्डे शैलीका दुराचारबाट सधैँ सङ्क्रमित छ । यसर्थ नीतिगत र कानुनी हैसियत बनाएर समयानुकूल नेपालीपनाको पर्यटनको विकासमा पर्ख र हेर होइन, अघि बढ भन्ने भावमा जागृति चाहिन्छ ।

राजनीतिगत अन्तरविरोधले पर्यटन प्रशासन र संरचनाको गुदी नै सशक्त घाइते छ । कुरो, अरूले निक्र्योल गरेका चुनौती र सम्भावनाभन्दा विश्वबजारलाई हेरेर यहाँका सम्भाव्यता, अवस्था र कार्यान्वयन पक्षभित्रका नवीनतासँग गाँसिन्छ । दसौँ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमलाई कसरी उकास्ने ? तर, हिन्दीमा भनाइ छ– ‘हिम्मते मरत, मदते खुदा’ स् हिम्मत गर्नेलाई भगवान्ले साथ दिन्छन् तर यहाँ बाधा नपु(याउने र आरोपित तुल्याउन जुर्मुराउने समुदाय अघि लागेन भने हरेक सहयोगी भगवान् बन्छ । भलै अनुभव नहोला तर प्रभावकारी विधि व्यवस्थापनका लागि सरोकारवालाले आदर्श नेतृत्वलाई साथ दिन्छन् । कुरा आलोचना र समर्थनको भन्दा छोटो समयमा ठूलो जिम्मेवारी बोक्नुपर्ने विषयको हो ।

अर्थतन्त्र विकासको मुख्य काय पर्यटन सुधार हो, तर यहाँका रैथाने ज्ञान, कला, संस्कृति, सांस्कृतिक कौशल विकासलगायतका विषयमा ध्यान नदिए हामी अधुरा बन्छौँ । हामीले ‘अतिथि देवो भवः’ भनेर आफ्नो संस्कृतिलाई बलिदानी दिनतिर ढल्कियौँ भने त्यो राष्ट्रियता मार्ने कुकृत्य हुन जान्छ । नेपाल पर्यटकीय सम्भाव्यतालाई छातीभरि बोकेर ‘प्रभावकारी व्यवस्थापन गर्ने’ तथा ‘लगानी गर्ने’ दुईवटा समस्याको अभावमा तड्पेको मुलुक हो ।
मूलतः हिमाली, पहाडी क्षेत्र तथा तराई, उपत्यकाका धार्मिक, प्राकृतिक परिवेशलाई पर्यटकीय सौन्दर्य र गन्तव्य बनाउँदै जाने हो भने नेपालको आय आर्जनको आधार बलियो बन्छ । भूकम्पले थिलथिल्याएका करिब दुईतिहाइ संरचनालाई पुनर्निर्माण गर्ने कार्य्विना पर्यटन प्रवद्र्धन कार्य प्रभावकारी बन्न सक्दैन । यातायातका साधनको प्रभावकारी व्यवस्थापनको विपरीत जथाभावी चर्को भाडादर कायम गर्ने दलाल समूहलाई ठेगान नलगाएयो विषयआन्तरिक पर्यटन विकासको बाधक बनिरहन्छ । आन्तरिक पर्यटनलाई उपेक्षा गरेर नेपालले निरन्तर अर्थतन्त्रलाई सबल तुल्याउने सपना बुन्न सक्दैन ।

कारोबार दैनिकबाट साभार गरिएको हो ।