मङ्गलाका पाँच जना कृषक पुरस्कृत
- १५ असार २०८२, आईतवार
- 173 पटक पढिएको
बेनी, १५ असार । म्याग्दीको मङ्गला गाउँपालिकाले आइतबार विभिन्न बिधामा पाँच जना कृषकलाई पुरस्कृत गरेको छ । २२ औ राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको कार्यक्रममा उनिहरुलाई जनही नगद रु. १० हजार सहित पुरस्कृत गरिएको हो ।
व्यवसायिक मौरिपालन तर्फ कुहुँका गोविन्द खत्री, मिश्रित खेतीमा तोराखेतका बिनोद भट्टचन, बरंजाका गंगामाया थापा, फलफुल नर्सरीमा बरंजाका रेशम बुढाथोकी र बंगुरपालनमा हाडेभिरका बिमल सापकोटालाई पुरस्कार वितरण गरिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाले जानकारी दिनुभयो ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा नं.–१ का अध्यक्ष तथा गाउँ कार्यपालिकाको आर्थिक विकास समितिका संयोजक एकजित रोका, कृषि शाखाका प्रमुख बिमल रोकामगरले सम्मानपत्र, नगद वितरण र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
व्यवसायिक कृषि पेशा गरिरहेका कृषकलाई प्रोत्साहनका लागि सम्मान र पुरस्कृत गरेको गाँउपालिकाका अध्यक्ष रोकाले बताउनुभयो ।