नेपाल रेडक्रस सोसाईटी चिमखोला उपशाखाको आठौँ साधारण सभा सम्पन्न

  • १४ असार २०८२, शनिबार
  • 3 पटक पढिएको

म्याग्दी १४ असार । नेपाल रेडक्रस सोसाईटी चिमखोला उपशाखाको आठौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपकोषाध्यक्ष शिब बानियाँले मानविय सेवा र परोपकारी कार्यको क्षेत्रमा चिमखोला उपशाखाले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले रेडक्रसले मानविय सेवालाई पहिलो कार्य मान्ने बताउँदै आगामी दिनमा समेत प्राकृतिक र दैवि प्रकोपका घटनाहरुमा अग्रपंतीमा रहेर मानव सेवामा समर्पित हुन आग्रह गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि बानियाँ मार्फत हालै पहिरोले घर पुरिएर पीडित बन्नुभएका बेगबहादुर पुनको परिवारलाई उपशाखाको तर्फबाट रु ५ हजार सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष थकबहादुर पाईजा, अमर मावि चिमखोलाका प्रधानध्यापक पृथबहादुर थापा, चिमखोला स्वास्थ्य चौकीका इन्चार्ज हिस्तुरी पाईजा र नेपाल रेडक्रस सोसाईटी चिमखोला उपशाखाका सचिब कप्रसाद थापाले उपशाखालाई जनही नगद रु २५ हजारको दरले सहयोग गर्नुभएकोमा प्रमुख अतिथि बानियाँले सम्मान गर्नुभएको थियो । साथै सहयोगदाता चार जनालाई विशिष्ट सदस्यताको लागि जिल्ला शाखामा सिफारिश समेत गरिएको छ ।
उपशाखाका कार्यबहाक सभापति हिस्तुरी पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष थकबहादुर पाईजा, निवर्तमान वडा अध्यक्ष देउप्रसाद पुन, अमर मावि चिमखोलाका प्रअ पृथबहादुर थापा, वडा सदस्य चेतन गर्वुजा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अमर मावि चिमखोलाका युवा रेडक्रस सर्कलका सदस्यद्धय दिपशिखा पुन र सृष्टि पाईजालाई उत्कृष्ट नृत्य प्रस्तुत गरेकोमा प्रमुख अतिथि बानियाँले नगद रु पाँच सय र डटपेन उपहार प्रदान गर्नुभएको थियो । कोषाध्यक्ष देउप्रसाद पुनको स्वागत र सचिब कप्रसाद थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । असार २१ गते हुने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीको बार्षिक साधारण सभाा लागि जिल्ला शाखा अन्तर्गत रहेका विभिन्न २२ वटा उपशाखा मध्ये १९ उपशाखाको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।