म्याग्दीमा धान दिवस : प्रविधि र परम्पराको उपयोग, उत्कृष्ट कृषकलाई सम्मान
- १५ असार २०८२, आईतवार
- 89 पटक पढिएको
म्याग्दी १५ असार । म्याग्दीमा कृषिमा प्रविधिको प्रयोग र परम्पराको निरन्तरताको सन्देश दिने गरी २२ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले बेनी नगरपालिका–२ बगरफाँटमा रहेको प्रगति बगरफाँट कृषक समूहको सहकार्यमा धान दिवसको अवसरमा आयोजना गरेको रोपाई महोत्सवमा खेत रोपाईमा खेत जोत्न एकैसाथ परम्परागत गोरु र आधुनिक हाते ट्याक्टरको प्रयोग गरिएको हो ।
खेत रोपाईमा छिटो छरितो हुने भएकाले पछिल्लो समेत खेत जोत्न हाते ट्याक्टरको प्रयोग बढेसंगै हलगोरुले खेत जोत्ने परम्परागत चलन हराएर जान थालेपछि रोपाई महोत्सवमा खेती किसानी गर्दा परम्परागत शैलि र आधुनिकताको महत्व दर्शाउन एकैसाथै गोरु र ट्याक्टरको प्रयोग गरेको हो । कृषकलाई हौँसला बढाउनका लागि रोपाई महोत्सव आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिनुभयो ।
रोपाईँ महोत्सवको अवसरमा उत्कृष्ट चार जना कृषकहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । ज्ञान केन्द्रले बेनी नगरपालिका ४ बास्कुनाका केन खत्री, मालिका गाउँपालिका ७ बिमका भुपेन्द्र शर्मा, बेनी नगरपालिका– ६ का कृष्णप्रसाद शर्मा, बेनी नगरपालिका– २ का चन्द्रबहादुर कार्कीलाई जनही नगद रु १० हजार र सम्मान पत्रद्धारा उत्कृष्ट कृषकको रुपमा पुरस्कृत गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख डिलकुमारी खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोला लगायतले कृषकहरुलाई पुरस्कृत गर्नुभएको थियो । म्याग्दी कृषिमा सम्भावनायुक्त रहेकाले खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न र अन्य जग्गामा बस्ती बसाउन आबश्यक रहेको जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख खत्रीले बताउनुभयो । खेतीयोग्य जमिनमा बस्ती बसाउँदा उत्पादनशिल जग्गा जमिन मासिएको उहाँको भनाई थियो ।
धान खेती गर्ने कृषकहरुको हौँसला बढाउनका लागि धान दिवसलाई महोत्सवको रुपमा मनाईएको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाजागाजा सहित आयोजित रोपाई महोत्सवमा जनप्रतिनिधि, कर्मचारी लगायतले कृषकहरुसंगै धान रोपेर रमाईलो गरेका थिए । महोत्सवमा हिलोमा दौड र घैटो फुटाउने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।