मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  • २० भाद्र २०७६, शुक्रबार
  • 4410 पटक पढिएको

 

बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहहरुले बनाएको ऐन कानुनको राजपत्र सार्वजनिक गरेका छैनन् । मंगलाले जिल्लामा पहिलो पटक राजपत्र प्रकाशन गरेको हो । राजपत्र प्रकाशन भएपछि औपचारिक रुपमा आम नागरिकलाई ऐन कानुनको जानकारी प्राप्त गर्ने अवसर मिलेको छ । मंगलाका सूचना अधिकारी राजेन्द्र आचार्यले अन्य ऐनहरु पनि राजपत्रमा प्रकाशन गर्ने प्रक्रियामा रहेको बताउनुभयो । १२ वटा ऐन बनाएको छ ।

राजपत्र मार्फत आम नागरिकहरुले स्थानीय तहको ऐन, नियम, निर्देशिका, कानुन र मापदण्डहरुको बारेमा जानकारी पाउँछन् । संबिधानले दिएको अधिकार प्रयोग र कार्यान्वयनका लागि स्थानीय तहले गाउँ तथा नगरसभाबाट संघीय र प्रदेश सरकारसँग नबाझिनेगरी २२ वटा कानुन बनाउनुपर्छ ।

शिक्षा, सहकारी, सडक मापदण्ड, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, वातावरण, कृषि ब्यवसाय प्रर्वद्धन, न्यायीक समितिले उजुरीको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यबिधि लगायतका बिधेयकहरु गाउँ तथा नगरसभाबाट पारित भएपनि राजपत्रमा प्रकाशन गर्न ढिलाई भएको छ ।