मुलपानीमा झोलुङ्गे पुल निर्माण

  • २० भाद्र २०७६, शुक्रबार
  • 2795 पटक पढिएको

 

बेनी, २० भदौ । रघुगंगा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ३५ लाख ८१ हजार ४६९ हजार को लागतमा निर्माण भएको पुलबाट ५४ घरधुरीका ५९४ जनसंख्या लाभान्वित भएका छन् ।

यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने, भेडिखाल्टा, मल्कवाङ र खिवाङका बासिन्दालाई सुबिधा पुगेको छ । पुल निर्माण भएपछि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो । पुलको बिहीबार एक समारोहका बिच वडा अध्यक्ष शेरपुजाले उद्घाटन गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाको अध्यक्षता, सचिव लालबहादुर शेरपुजाको सञ्चालन र वडा सदस्य कल्पना घर्तीमिरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सदस्य लिलबहादुर पुन, प्रेमकुमारी पुन, टेकजित छन्त्याल, स्थानीय देवीलाल शेरपुजा, भबहादुर पाइजा, ताराप्रसाद शेरपुजा र होम शेरपुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राबिधिक सहयोग गरेको थियो । टिबिएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको थियो ।

मजदुरको ज्याला, निर्माण सामग्री खरिदको भुक्तानी गाउँपालिकाबाट भएको हो । यस वर्ष रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानीको ठूलोखोलामा पनि रु. ३३ लाख ८० हजार २३६ को लागतमा ५७ मिटर लामो पुल निर्माण भएको छ ।ठूलोखोलाको पुलबाट ठाडाखानीका १०३ घरधुरीका साथै धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।