म्याग्दीमा डेङ्गु भित्रन नदिन सतर्कता

  • १६ भाद्र २०७६, सोमबार
  • 2975 पटक पढिएको

सन्तोष गौतम
बेनी, १६ भदौ । म्याग्दीमा डुङ्गु रोग भित्र्न नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मी लगायतको बैठकले डेङ्गु भित्र्न नदिनका लागि सतर्कता अपनाउने निर्णय गरेको छ । छिमेकी कास्की, पर्वत र बागलुङमा डेङ्गुका बिरामी भेटिएका छन् । म्याग्दीमा अहिलेसम्म नदेखिएपनि सम्भावित जोखिमको विश्लेषण गरेर सतर्कता अपनाइएको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्माले डेङगु सार्ने लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्नुका साथै स्थानीय तह र सामाजिक संघ संस्थासँग सहकार्य गरेर जनचेतना अभिवृद्धी गर्ने कार्ययोजना तयार पारिएको बताउनुभयो ।

एडिस जातको पोथी लामखुट्टेले एक बाट अर्को व्यक्तिलाई डेङ्गु सार्ने गर्छ । दिउँसोमा सक्रिय हुने यो लामखुट्ट सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्छ । टायर र पानी जम्ने ठाउँमा बस्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरि बासस्थान नष्ट गर्ने अभियान चलाइने भएको छ ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीले विद्यालय र समुदाय स्तरमा डेङगु रोग न्युनीकरणका सम्बन्धमा सन्देशमुलक कार्यक्रम गर्न निर्देशनन दिनुभयो । स्थानीय तह र अन्य संघ संस्थाको सहकार्यमा मुख्य मुख्य ठाउँमा सरसफाई र अव्यवस्थित रुपमा राखिएका टायरलाई व्यवस्थापन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । टायरको सुरक्षित व्यवस्थापनका लागि ग्यारेज सञ्चालकहरुलाई अनुरोध गरिने उहाँले बताउनुभयो ।