म्याग्दीका मनकारी जनप्रतिनिधि

  • ३ भाद्र २०७६, मंगलवार
  • 4330 पटक पढिएको

म्याग्दी ३ भदौ । म्याग्दीका तीन स्थानीय तहका प्रमुखले आफ्नो पारिश्रमिक वापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकाका अध्यक्षत्रयले सरकारी तवरवाट प्राप्त हुने पारिश्रमिकलाई शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाको क्षेत्रमा खर्चिने गरेका हुन् । यहाँका गाउँपालिका अध्यक्षले मासिक पारिश्रमिक रु ३१ हजार पाउने गरेका छन् ।


रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले निर्वाचनमा उमेद्वारी दर्तासंगै राज्यबाट प्राप्त हुने सुविधा नलिने घोषणा गरेका थिए । आफ्नो घोषणा बमोजिम उनले ‘गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी अक्षयकोष’ स्थापना गरेका छन् । गाउँपालिकामा रहेको प्रभु बैँकमा कोषको नाममा सञ्चालन भएको खातामा अहिलेसम्म ९ लाख पारिश्रमिक जम्मा भएको अध्यक्ष भण्डारीले बताए । उनले सो कोषमा जम्मा भएको रकमबाट ५ वटा वडामा गरिब, विपन्न र अपांगता भएका पाँच/पाँच घरका २५ जनाको एक बर्षको स्वास्थ्य विमा गरिदिएका छन् । बाँकी तीन वटा वडामा समेत गरि एक महिनाभित्र गाउँपालिकाका ४० घरका २ सय जनाको स्वास्थ्य विमा गरिदिने तयारी गरेको अध्यक्ष भण्डारीले बताए ।


कोषबाट अध्यक्ष भण्डारीले एक जना विपन्न विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरि स्नातक तहसम्म नै शैक्षिक खर्चलागि सहयोग गर्ने भएका छन भने दृष्टिविहिन स्रोत कक्षासंगै गाउँपालिकाको सबै विद्यालयमा शैक्षिक सामाग्री सहयोग गर्ने तयारी गरेका छन् । कोषबाट अमर मावि चिमखोलामा निजि स्रोतबाट राखिएका विज्ञान बिषयका शिक्षकलाई एक महिनाको तलब रु २० हजार र शिव आधारभुत विद्यालयलाई रु ६० हजार सहयोग गरिसकिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजाले आफ्नो पारिश्रमिकलाई सामाजिक क्षेत्रमा खर्चिएका छन् । निर्वाचन अगाडी नै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका अध्यक्ष गर्वुजाले विपन्न परिवारका जेहेन्दार विद्यार्थि अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका काजल रोकालाई ईञ्जिनियरिङ्ग अध्ययनको लागि रु १ लाख ५० हजार सहयोग गरेका छन् ।


आफ्नो पारिश्रमिक वापतको मासिक प्राप्त हुने रकमलाई गरिमा विकास बैँकमा छुट्टै खाता खोलेर जम्मा गर्दै आएका अध्यक्ष गर्वुजाले सामुदायिक विद्यालय आदर्श मावि रिम र ज्ञानप्रकाश मावि दानालाई शैक्षिक गुणस्तर थप सुधारको लागि ५०/५० हजार सहयोग गरेका छन् । कोषबाट गाउँपालिबाट एसईईमा सहभागि भएर उर्तिण भएका विद्यार्थीमध्ये उत्कृष्ट एक/एक जना छात्र/छात्रालाई ५० हजारका दरले पुरस्कृत गर्ने तयारी गरिएको छ । कोषमा अझै ३ लाख बढी रकम बाँकी रहेको र अत्याबश्यक सामाजिक क्षेत्रमा खर्चिने योजना बनाएको गर्वुजाले बताए । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पनि आफ्नो पारिश्रमीक बापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिदै आएका छन् ।

अध्यक्ष रोकाले मंगला गाउँपालिका–५ सिर्कुममा रहेको किसानी आधारभुत विद्यालयको भवन निर्माणको क्रममा जग्गा खरिद गर्दा लागेको ऋण तिर्न रु ३ लाख ५० हजार सहयोग गरेका छन् । उम्मेदवारी लगत्तै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका अध्यक्ष रोकाले निर्वाचित भएपछि आफ्नो पारिश्रमिकबाटै मंगला शिक्षा क्याम्पसको शैक्षिक विकासमा रु २ लाख सहयोग गरेकोे बताए । त्यस्तै गाउँपालिकाको केन्द्र बावियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि निर्माण गर्न लागिएको इन्द्रेणी पार्कको जग्गा खरिदमा अध्यक्ष रोकाले रु १ लाख सहयोग गरको छन् । ५ जना विपन्न परिवारका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेका अध्यक्ष रोकाले आफ्नो पारिश्रमिक बापतको रकमबाटै तीन जना विपन्न र आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीको घरपरिवारको घरखर्चको लागि मासिक रु २ हजारको दरले सहयोग गर्दै आएका छन् ।