कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)

  • ३१ श्रावण २०७६, शुक्रबार
  • देवान छन्त्याल
  • 5481 पटक पढिएको

म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा विकास निर्माण र सामाजिक सेवाको कार्यमा निरन्तर सक्रियता जनाउँदै आएका छन् ।

छन्त्याले प्रसिद्ध धार्मिक स्थल ऋखारमा भक्तजनको सुविधाको लागि तिर्थयात्री निवास भवन निर्माण गरेका छन् । करिब ४ हजार ६ सय मिटर उचाईमा रहेको ऋखारमा जाने भक्तजन तथा तिर्थयात्री र पर्यटकहरुलाई सहज बसोबासको लागि छन्त्यालले करिब रु ६ लाख लगानीमा सो भवन निर्माण गरिदिएका हुन् ।

प्रसिद्ध धार्मिक स्थल ऋखार

भवन निर्माण भएपछि पुजा, दर्शन र भ्रमणको लागि ऋखार पुग्नेहरुलाई सहज भएको छ । उच्च हिमाली क्षेत्र रहेकाले ऋखारमा बसोबास र आश्रय लिन समेत ठाउँ नभएको अबस्थामा छन्त्यालले आश्रय स्थल भवन निर्माण गरेपछि भक्तजनहरुलाई सहज भएको र ऋखार क्षेत्रको पूर्वाधार विकासमा ठुलो योगदान पुगेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

सार्वजनिक पिसानी मिल

त्यसैगरि गृहगाउँ कुईनेखानीमा निःशूल्क पिसानी सेवाको लागि सार्वजनिक पिसानी मिल स्थपाना गरिदिएका छन्त्यालले लघुजलविद्युत निर्माणमा समेत ठुलो योगदान पुर्‍याएका छन् । छन्त्यालले स्थापना गरेको पिसानी मिलमा अहिले कुईनेका स्थानीयले निःशुल्क रुपमा सेवा लिइरहेका छन् । गाउँदेखि टाढा रहेरपनि छन्त्यालले गाउँका हरेक समस्याहरुमा सहयोग र सदभाव देखाउँदै आएको कुईनेखानीका स्थानीय तुलबहादुर छन्त्यालले बताए ।

भरतसंगै उहाँकी धर्मपत्नी खिममायाँ पनि सामाजिक कार्यमा सक्रिय छिन् । रघुगंगा गाउँपालिका– ५ ठाडखानीमा जन्मिएकी खिममायाँ अहिले जन्मगाउँमै शिक्षण पेशासंगै सामाजिक कार्यमा सक्रिय रहेकि हुन् । मालिका आधारभुत विद्यालय ठाडखानीकी प्रधानध्यापक समेत रहेकी छन्त्याल र उनका पती भरतको पहलमा प्रसिद्ध धार्मिक स्थल मालिकाधुरीमा भक्तजनहरुको सहजताको लागि खानेपानीको सुविधा पुर्‍याईएको छ । त्यसैगरि उनीहरुले चौरखानीमा रहेको झिङखानी भूमे थानमा संरक्षणको लागि पर्खाल समेत निर्माण गरिदिएका छन् ।

झिङखानी भूमे थान

‘‘ म जहाँ भएपनि गृहगाउँ क्षेत्रको समस्याहरुले मलाई निरन्तर घच्घचाउने गर्छ, गाउँका समस्याहरुमा सकभर हातमालो गर्नु मेरो दायित्व सम्झिने गर्छु, अझैपनि सामाजिक कार्यहरुलाई निरन्तरता दिने मेरो सोच छ’’–बुटवलमा रहेका छन्त्यालले टेलिफोनमा भने ।

भारतीय सेनाबाट अवकास लिएर आएपछि बुटवल क्षेत्रमा रेमिट्यान्स र घरजग्गा खरिदविक्रि सम्बन्धि व्यवसायमा क्रियाशिल रहेका छन्त्याल बुटवलका छन्त्याल संघका जिल्ला अध्यक्ष समेत हुन् । उनी छन्त्याल समुदायको उत्थान तथा मौलिक कला, संस्कृति र भाषा संरक्षण लगायतका सामाजिक कार्यमा समेत सक्रिय रहेका छन् ।

कुइनेखानी गाउँ

देवान छन्त्याल

म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l