वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)

  • २८ श्रावण २०७६, मंगलवार
  • कमल खत्री
  • 4163 पटक पढिएको

कमल खत्री
म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् ।

 

बिगत ८ महिनादेखि आचार्य सहित ४ जना युवाहरुले बेनी–दरबाङ सडकखण्डको बावियाचौर नजीकै रहेको कोत्रबाङमा ७ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक अर्गानिक (प्राङ्गारिक) तरकारी खेती सुरु गरेका हुन् । चारै जना वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । उनीहरुले मंगला प्राङ्गारीक तरकारी खेती तथा प्राङगारिक मल उत्पादन फम सञ्चालन गरेर उदाहरणीय प्रयास गरेका छन् । आचार्य संगै लरेनीका ओमबहादुर दर्जी, दलबहादुर नेपाली, र काउलेका भविलाल सुवेदीले आर्गानिक सामुहिक तरकारी खेती थालेका हुन् ।

सुरुवातमा बावियाचौरमा प्राङ्गारिक मल उद्योग सञ्चालन गरेका उनीहरुले आर्गानिक तरकारी उत्पादन गर्ने उदेश्यले सामुहिक तरकारी खेती सुरु गरेका थिए । अहिले ५ वटा टनेलमा टमाटरसंगै करेला, घिरौँला, भेण्टा, भेण्टी, खुर्सानी, बोडी, बन्दा, काउली लगायतका तरकारी उत्पादन गर्दै आएको कृषक आचार्यले बताए । ‘‘ आलु, मटरकोसा लगायतका तरकारी रोप्ने तयारीमा छाँै, उत्पादन भएको तरकारीका लागि बजारको अभाब छैन्, सुरुवातमा गरेको लगानी उठिसकेको छ’’–आचार्यले भने ।

उनीहरुले उत्पादन गरेको तरकारी नजीकै रहेको बावियाचौर, दरबाङ लगायतका बजारमा खपत हुनुको साथै स्थानीय स्तरमा समेत खरिदविक्रि हुँदै आएको छ । परिश्रम गरेपछि स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने निचोटमा उनीहरु पुगेका छन् । उनीहरुले सामुहिक तरकारी खेती संगै घरमा समेत तरकारी खेती र पशुपालनलाई संगसंगै अघि बढाएका छन् । आचार्य संगै फममा तरकारी गोडमेलमा व्यस्त रहेका अर्का युवा ओमबहादुर दर्जीपनि गाउँघरकै खेतबारीमा पसिना बगाउँदा खुसी छन् ।

 

मंगला–२ लरेनी घर भएका दर्जीले कतार र दुबैमा ७ बर्ष समय विताउँदा पनि सुख प्राप्तीको कुनै सम्भावना नदेखपछि गाउँघरमै पसिना बगाएर जिविका चलाउने अठोट लिएर घर फर्किका थिए । बिगत ३ महिनादेखि यस कृषि फममा जोडिन आएका दर्जीले विदेशमा १५ घण्टासम्म कडा मेहनत गर्दापनि आफु जाँदा लागेको ऋण चुक्ता गर्न बाहेक अरु उपलब्धी नभएको सुनाउँदै सामुहिक तरकारी खेतीबाट सन्तुष्ट रहेको बताए । ‘‘ विदेशमा ठुलो परिश्रम गरियो, आफु जाँदाको ऋण तिर्नबाहेक अरु केही उपलब्धी भएन, यहाँ कसैको अण्डरमा बसेर काम गर्नुपर्दैन्, हामी काम बाँडफाँट गरेर नियमित रुपमा फम र मल उद्योगमा काम गछाँै, परिवारसंगै बसेर स्वदेशमै पसिना बगाउँदा मुलाई ठुलो सन्तुष्टी मिलेको छ’’–उनले भने ।

वरिपरिका हरियाली धान खेतको बिचमा उनीहरुले गरेको तरकारी खेती नमुना फामको रुपमा विकास भैरहेको छ । चारै जनाले दैनिक रुपमा तरकारी खेतीमा गरेको काम झनै लोभलाग्दो छ । कसैले करेसाबारीमा गोडमेल गर्छन त कसैले उत्पादन भएको उपज संकलन गर्ने र कसैले बजारीकरण गर्ने उनीहरुको अहिलेको दैनिकी हो । सुरुवातमा रु ४ लाख लगानी गरेका कृषकहरुले तरकारी खेतीलाई थप विस्तार गरि व्यावसायिक स्वरुपलाई बढाउने तयारीमा छन् । ‘‘ यो समय हामिहरुको लागि परिक्षणको रुपमा रहेको थियो, यसबाट परिश्रम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ भन्ने अनुभव संगालेका छाँै’’–कृषक आचार्यले थपे ।

                                                   उपभोक्ताको नजर एउटै
पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुख सम्म नै विषादीयुक्त तरकारी र फलफुल पुग्ने गरेको सन्दर्भमा युवाहरुले थालेको आर्गानिक तरकारी खेतीमा भने वास्तविकता बुझाउँनै सकस पर्ने गरेको छ । कुनैपनि विषादी र रासायनिक मलको प्रयोग नगरीकनै आर्गानिक तरकारी उत्पादन गरिएपनि उपभोक्ताले भने विषादियुक्त तरकारी र आर्गानिक तरकारीलाई एउटै नजरबाट हेर्ने प्रवितृ रहेको उनीहरुको गुनासो छ । ‘‘ आर्गानिक उत्पादन आफैमा जोखिम र गाह्रो काम हो, तर बजारमा बुझाउन अलि गाह्रो भएको छ, फममै आएर तरकारी लैजानेहरु विश्वस्त हुनुहुन्छ, आर्गानिक उत्पादनको महत्व बढ्नेमा विश्वस्त छौँ’’– फमका अर्का सञ्चालक दलबहादुर नेपालीले भने ।

उनका अनुसार, तरकारीमा रोगकिराको संक्रमण भएको समयमा गाईभैसीको गहुँत र जैविक बिषादी बनाएर प्रयोग गरिँदै आईएको छ । उनीहरुले टमाटर प्रतिकिलो ७०, करेला ८०, खुर्सानी १३५ मा विक्रि गरिरहेका छन् । व्यावसायिक तरकारी खेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्र कार्यालयबाट टनेल लगायतका सामाग्रीमा सहयोग प्राप्त भएपछि उनीहरुमा थप हौँसला थपिएको छ । मंगला गाउँपालिकाले नीति तथा कार्यक्रममा नै अर्गानिक व्यावसायिक खेतीलाई जोड दिईएको अबस्थामा युवाहरुले कोत्रबाङमा सुरु गरेको आर्गानिक तरकारी खेती नमुनाको रुपमा अघि बढेको पाईएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

‘‘ सुरुमा उहाँहरुलाई प्राङ्गारिक मल उत्पादन सम्बन्धि तालिम दिएका थियौँ, उहाँहरुले मल उद्योग संगै आर्गानिक तरकारी खेतीपनि थाल्नुभयो, पछि हामीले टनेल, पावर टेलर खरिदमा पनि अनुदानको व्यवस्था ग¥यौँ, स्वदेशमै केहि गर्नुपर्ने भन्ने उहाँहरुको मान्यतामा हाम्रो सकरात्मक साथ रहेको छ’’ अध्यक्ष रोकाले भने ।

                                                    मल उद्योगबाट समेत आयआर्जन
गाउँपालिकाको सहयोगमा उनीहरुले नै सञ्चालन गरेको प्राङ्गारिक मल उद्योगमा उत्पादन भएको मलको समेत तरकारी फर्म सञ्चालनमा आएसंगै सदुपयोग हुन थालेको छ । उनीहरुले मल उद्योगबाट समेत आम्दानी गर्दै आएका छन् । उद्योगबाट उत्पादन हुने प्राङ्गारिक मलालाई प्रतिकिलो रु २५ मा विक्रि हुँदै आएको छ ।

बजारमा निस्कने कुहिने फोहोर संकलन गरि खेर गएको बनस्पती बनमारा, माटो, काठको धुलो, धानको भुस लगायतलाई मिसावट गरि तयार गरिने प्राङ्गारिक मल अहिलेसम्म १५० क्विन्टल बढी विक्रि भैसकेको छ । मंगला गाउँपालिकाले ८० क्विन्टल मल खरिद गरि कृषकहरुलाई वितरण गरेको थियो भने लुम्ले स्थित नर्सरीमा समेत यहाँबाट मल आयात गरि लगिदै आईएको छ ।

                                                                      कृषि मंगलाको प्राथमिकतामा
मंगला गाउँपालिकाले समृद्धिको प्रमुख आधार मानिएको कृषि क्षेत्रलाइ प्राथमिकतामा राखेको छ । कृषि र पर्यटन क्षेत्रमा गाउँपालिकामा रहेको सम्भावना उजागरको लागि प्राथमिकता दिईएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताईन् । उनले युवाहरुलाई जोडेर सूरु गरिएको प्राङ्गारिक मल उद्योग र अर्गानिक तरकारी खेती नमुनाको रुपमा अघि बढेको बताउदै कृषिलाई थप जोड दिईएको जानकारी दिईन् ।

आर्थिक बर्ष २०७५/७६ मा कृषि र पशुपालन क्षेत्रमा रु ४८ लाख बजेट परिचालन गरेको मंगलाले चालु आर्थिक बर्षको लागि यस बर्ष ६२ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार, प्रत्येक वडाबाट पालिकाले दिएको सिलिङमा करिब ५ लाखका दरले कृषि क्षेत्रको लागि थप बजेट विनियोजन भएको छ । यस बर्ष कृषकहरुलाई टनेल, थोपा सिचाई, उन्नत जातका विरुवा र विउ, उपकरण लगायतका बस्तु तथा सामाग्री सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

????????????????????????????????????
????????????????????????????????????

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l