बेनीमा खानेपानीको चरम अभाब कहिलेसम्म ? बैकल्पिक व्यवस्थाको तयारी (भिडियो सहित)

  • २६ श्रावण २०७६, आईतवार
  • 2269 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको चरम अभाब भएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको छ । पाईपलाईनमा क्षती पुगेपछि बेनीमा बिगत दुई महिनादेखि खानेपानीका सहज आपूर्ति हुन सकेको छैन् । घरको धारामा खानेपानी आउन छाडेपछि दैनिक रुपमा खानेपानीको जोहो गर्न सकस पर्ने गरेको बेनीका खेम केसीले बताए । बेनी बजारका अधिकाँश घरमा खानेपानीको बैकल्पिक स्रोत छैन् ।

सडक विस्तारको क्रममा दैनिकजसो खानेपानीको पाइपलाइनमा क्षति हुने र मर्मत गरेपनि छिट्टै पुनः पाइप फुट्ने समस्याले बजारमा खानेपानीको सहज आपूर्ति हुन नसकेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुवास कुमार श्रेष्ठल बताए । ‘‘हामीले दैनिक जसो पाइपलाइन मर्मत गरेका छौँ, तर सडक विस्तारको क्रममा पाईप भाँचिने र क्षति हुने क्रम नरोकिँदा समस्या भएको छ, खानेपानीको नयाँ पाईपलाइन निर्माण नगरेसम्म दिर्घकालिन रुपमा समस्याको हल नहुने देखिएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यानकर्षण गराएका छाँै’’–अध्यक्ष श्रेष्ठले भने । पाइपलाइन मर्मत गरेर शनिबार दिउँसोदेखि पुम्दीखोलाको मुहानबाट खानेपानी आपुर्ति गरिएको भएपनि राती नै पाईपलाइन फुटेपछि आपूर्ति बन्द भएको थियो ।

एक हजार पचास घरधुरी उपभोक्ताका लागि बेनीमा प्रति सेकेण्ड २५ लिटर खानेपानी आवश्यक पर्ने खानेपानी संस्थाले जनाएको छ । निर्माण कम्पनीले समन्वय नगरि जथाभावी डोजर चलाउँदा पाइपलाइनमा भाँचिने र फुट्ने गरेको छ । पहिरोले पनि पाइपलाइनलाई असर गरेको छ । खानेपानी आपूर्ती अवरुद्ध हुँदा बेनीका सर्वसाधारण, होटल ब्यवसाय र सरसफाईमा समस्या भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत गलेश्वर देखि राहुपारे खण्डको चार किलोमिटर दुरीमा शर्मा–युनाइटेड जेभीले विस्तारको काम गरिरहेको छ । हाल ६ मिटर चौडाइ भएको सडकलाई विस्तार गरेर ११ मिटर फराकिलो बनाउन लागिएको हो । समन्वय गरेर सडक विस्तार गर्ने र पाइपलाइनमा क्षति पुगेको अवस्थामा मर्मत गर्ने समझदारी भएपनि निर्माण कम्पनीले कार्यान्वयनमा बेवास्ता गरेका छन् ।
     तत्कालको समस्या हल गर्न उपसमिति गठन
बेनीमा खानेपानीको हाहाकार नै बनेपछि खानेपानीको अल्पकालिन समस्या हल गर्नको लागि उपसमिति गठन भएको छ । बेनीमा आईतवार भएको सरोकारवालाहरुको भेलाले खानेपानी आपुर्तिको बैकल्पिक व्यवस्था गर्नका लागि यजनलाल शाक्यको अध्यक्षतामा राजेन्द्र श्रेष्ठ, बेलबहादुर कटुवाल, हिमबहादुर भण्डारी, कृष्ण विक, विकास कुँवर सदस्य रहेको उपसमिति गठन गरिएको हो । उपसमितिलाई बेनीमा बैकल्पिक खानेपानीको व्यवस्था सम्पूर्ण जिम्मेवारी दिईएको छ ।

                                                ट्याक्टरबाट खानेपानी वितरण
धारामा नियमित पानी आपुर्ती नहुन नसकेपछि बेनी बजारमा ट्याक्टर र दमकलबाट पानी ढुवानी गरेर वितरण गरिएको छ । बेनी नगरपालिका, वडा कार्यालय, बेनी खानेपानी उपभोक्ता संस्था, युवा क्लव र टोल सुधार समितिको समन्वयमा बेनीका टोल टोलमा पिउने पानी वितरण गर्न थालिएको हो । कालीपुल, क्याम्पसचोक, न्युरोडको एभरग्रिन, दोभान र मंगलाघाटको वौद्ध युवा क्लवले खानेपानी वितरणमा सहजिकरण गरेका छन् । त्यसैगरि बेनीका व्यवसायि कुलदिप जुग्जालीले समेत विगत करिब एक महिनादेखि नै व्यक्तिगत लगानीमा ट्याक्टरमा ड्रम राखेर खानेपानी वितरण गर्दै आएका छन् । बजारका हार्डवयर ब्यवसायीहरुले खानेपानी वितरणको लागि ड्रम उपलब्ध गराएका छन् । बेनी नजिकका मुहानहरुबाट ड्रममा राखेर टोलटोलमा पु¥याएर वितरण गरिएको खानेपानीलाई पानीलाई उमालेर र शुद्धिकरण गरेर मात्रै उपभोग गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।