मनोनयन दर्तासंगै म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढ्यो

  • २१ बैशाख २०७४, बिहीबार
  • 3253 पटक पढिएको

म्याग्दी, २१ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको मनोनयन दर्ता गरेसंगै चुनावी चहलपहलले तिब्रता पाएको हो ।
म्याग्दीमा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ती, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारले वडा देखी गाउँपालिका प्रमुखसम्म उम्मेदवारी दता गरेका छन् । जिल्लाको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को तालमेलबाट अध्यक्षमा काँग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी ज्योती लामिछाने उम्मेदवार बन्नुभएको छ ।

त्यसैगरि नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ र उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा हुनुहुन्छ । अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले समेत नगरप्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । बिशेष गरि काँग्रेस–माओवादी गठबन्धन र एमाले–राप्रपा गठबन्धन बिचमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । बेनी नगरपालिका बाहेक जिल्लाका अन्य पाँच वटै गाउँपालिकामा समेत दलहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गरी चुनाबी प्रचार प्रसारमा लागेका छन् ।
जिल्लाको स्थानीय तहहरुमा दलहरुले फरक–फरक दलहरुसंग तालमेल समेत गरि चुनाबी मैदानमा उत्रिएपछि गाउँघरमा समेत चुनाबी रौनकता छाएको छ । संघिय संरचनामा पहिलो पटक हुन लागेको अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि दलहरुले घरदैलो थालेका छन भने आफ्ना एजेण्डाहरुलाई जनतासामु लैजानका लागि चुनाी सभाहरुलाई समेत अगाडी बढाएका छन् ।