यूवा राजनीति र नेतृत्व

  • ११ श्रावण २०७६, शनिबार
  • 5380 पटक पढिएको

 

म्याग्दी, ११ साउन । युवा अर्थात जोस, जाँगर, उर्जा र विचारले सु–सम्पन्न अवस्था । परिर्वतनको अर्को नाम असम्भवलाई सम्भव बनाउन सक्ने ‘पोसिवल ऐजेण्ट’ । नेपालको ईतिहासलाई हेर्ने हो भने आजसम्मका परिर्वतनका मुद्धाहरुमा युवा पंक्तिको जवरजस्त उपस्थिती रहेको पाईन्छ । चाहे त्यो २००७ सालको प्रजातन्त्र ल्याउनका नीम्ति होस, चाहे २०३६ सालको जनमत संग्रहमा होस, चाहे त्यो २०४७ सालको

प्रजातान्त्रीक आन्दोलनमा होस वा १० बर्षे सशस्त्र जनयुद्धमा होस, अथवा २०६२/६३ को जनआन्दोलन, यी सबै परिर्वतनका महत्वपुर्ण परिघटनाहरु युवाहरुको ९० प्रतिशत उपस्थितले मात्र सम्भव भएकाे हो । नेपालको मात्र नभएर विश्वकै ईतिहासलाई कोट्याउने हो भने पनि बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिदेखि रुसको अक्टोवर क्रान्ति र इटालीमा आरम्भ भएको पुर्नजन्मयुगको सवालमा समेत युवाहरुको बहुमतको उपस्थित भएको छ। यसरी कुनैपनि देशलाई उक्त देश र जनताको आवश्यकता अनुरुप सकारात्म परिवर्तनका मुद्धाहरुलाई स्थापीत गर्नका लागि युवा शक्ति नै निर्णयक शक्ति हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।


नेपालको राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० बर्षको उमेर समुहलाई युवा परिभाषाभित्र छ । तर विडम्वना वर्तमान परिस्थितीको यथार्थतालाई हेर्ने हो, भने युवा बर्ग ४० बर्षसम्म विद्यार्थी राजनीति/ युवा राजनीतिमा सिमित हुनुपर्ने स्थिती छ । आज हेरौँ केन्द्रिय तहका युवा नेतृत्वहरु अनेरास्ववीयूका  संयाेजक   ऐन महर , सह– संयोजक रन्जित तामाङ, नेपाल राष्ट्रिय युवा संघका संयोजक दिपशिखा, नेपाल विद्याथी संघका निवर्तमान सभापति नैनसिङ महर, तरुण दलका सभापति जितजँग बस्नेत, सबै ३५ देखि ५० बर्षको विचमा छन् र यी युवा नेतृत्वहरुलाई यो देशको निर्णायक तहमा पुग्नका नीम्ति कम्तिमा पनि दुइ दशक लाग्ने देखिन्छ । अर्थात ५० देखि ७० बर्षको विचमा मात्र यी युवा नेतृत्वहरुले यो देशको नेतृत्व पाउने सम्भावना देखिन्छ । अव एकपटक विचार गरौ, ३५ बर्षको युवामा जुन खालको उर्जा छ। जुन उत्पादनशिलता छ । देश परिवर्तनको नीम्ति जुन खालको सपना छ , भिजन छ, के त्यो ५५/६० बर्ष उमेरसम्म कायम रहला ? यो नेपालको भविष्यको निम्ती एक प्रमुख चिन्तनकाे विषय हो । एक पटक फेरी उदाहरणतर्फ जाउँ बाराक ओबामा अमेरिकाका राष्ट्रपति हुदा कति बर्षका थिए ?  सायद   ४०/४५ बर्षको विचमा । बेलायतका निर्वतमान प्रधानमन्त्री डेवीट क्यामरुन ४३ बर्षको उमेरमा देशको प्रधानमन्त्री थिए । फ्रान्सका होनाहार सम्राट नेपोलियन बोनापार्ट ३० बर्षको उमेरमा सम्राट बनेका थिए । क्युवाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो ३३ बर्षको उमेर मा राष्ट्रपति बनेका थिए । एकपटक विश्लेषण गरौँ, सम्वन्धित देश र समग्र विश्वको परिवर्तनको सवालमा यी युवा मस्तिष्कका नेतृत्वहरुको योगदान कस्तो थियो । त्यसैले युवा मस्तिष्क विना विशिष्ट परिवर्तनहरु सम्भव छैन् ।

यसरी कुनैपनि परिवर्तनको सवालहरु, युवा पंक्तिको उपस्थितविना सम्भव नहुने भएतापनि नेपालको सन्दर्भमा निर्णयक तहमा युवा नेतृत्व प्राप्त गर्न नसकिरहेको अवस्था छ । यसका विभिन्न कारण छन्  । ति मध्ये शिक्षित युवा वर्गको राजनीतिप्रतिको वितृष्णालाई प्रमुख कारणको रुपमा लिन सकिन्छ । नेपालका अधिकाँश युवाहरुमा राजनीतिप्रतिको गहिरो वितृष्ण  जाग्नुमा  वर्तमान राजनीतिक नेतृत्वहरुको कार्यशैली यसको प्रमुख कारण  नै हाे । ‘राजनीति फोहोरी छ, भ्रष्ट छ ।’ यी अधिकाँश युवाहरुले नेपालको राजनीतिलाई ब्याख्या गर्दा प्रयोग गर्ने विशेषणहरु हुन् । तर यो समस्याको समाधान होइन् । म सम्पुर्ण युवाहरुलाई अनुरोध गर्न चाहन्छु, कुवा धमिलो छ भने त्यसलाई सङ्लो बनाउनुपर्छ, पानी पिउन योग्य बनाउनुपर्छ र पिउनुपर्छ । ताकी कुवा छाडेर भाग्ने होईन । त्यो गैर जिम्मेवार हुन्छ । त्यसैले आउनुहोस, युवा जोस, जागर र विचारको एकता गर्दै नेपालको धमिलिएको राजनीतिलाई सङ्ल्याउने प्रयत्नमा अगाडी बढौ ।

त्यस्तै बैचारिक लघुताभाष अर्को कारण हो । अधिकाँश युवाहरु आफ्नो  पारिवारीक  जिम्मेवारी भन्दा बाहिर आउन सकेको देखिदैन् । देशको परिवर्तनको निम्ति योगदान गर्ने इच्छाको कमि छ । परिवर्तन गर्न  सक्ने क्षमता बाेकेका युवाहरुमा पनि देशप्रति जिम्मेवार बोध गराउन नसक्दा उनीहरु केवल ब्यक्तिगत जीवनमा मात्र सिमित छन् । यो जमात अन्तर्गत अलिक कम र मध्यम शैक्षिक योग्यता भएका युवाहरु खाडी मूलुकदेखि जापान, काेरीया लगायतका मुलुक र राम्राे योग्यता भएका युवाहरु अमेरिका , अष्ट्रेलिया, क्यानडा लगायतको देशहरुमा उर्जा र क्षमता खर्च गरिरहेका छन् । त्यस्तै केही योग्य र क्षमतावान युवाहरु सामान्य रोजगारमा सिमित रहेर बसेको देखिन्छ । जवसम्म नेपालको शैक्षिक नीति बैचारिक लघुताभाषलाई पराजीत गर्ने ढंगबाट निर्माण गर्न सकिदैन तवसम्म युवा जमातमा ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिदै देशको हितमा जीवन अर्पण गर्ने विचारको विकास हुन कठिन छ ।

त्यस्तै युवा निर्णयक तहमा पुग्न नसक्नुको अर्को कारण हो, चाकडीपन । देशको परिर्वतनको निम्ती राजनीतिमा होमिएका युवाहरुमा कुनै एक नेताको पछि नपरिकन अगाडि जान सकिदैन भन्ने भ्रम विश्वासको रुपमा स्थापित भएको देखिन्छ । आफुलाई बैचारिक/सैद्धान्तिक हिसावले बलियो बनाउदै बास्तविक परिर्वतनको निम्ति समर्पित गर्नुको साटो छिटो माथिल्लो तहमा पुग्ने र आफ्नो प्रतिस्पर्धीहरु भन्दा विशिष्ट देखिने महत्वाकाँक्षाका कारण भ्रष्ट र भिजनविहिन नेताकै किन नहोस, चाकडीवादमा तल्लिन भएको देखिन्छ । जसको कारण पुरानो पुस्ताले नयाँ पुस्ताका राजनीतिज्ञहरुलाई दमन गर्ने अवसर प्राप्त गरिरहेका छन् । बास्तवमा यो परिपाटी युवा राजनीतिको सबैभन्दा प्रमुख सत्रु हो । युवा राजनीति सदैव प्रतिपक्षको राजनीति बन्न सक्नुपर्छ । जवसम्म युवा राजनीतिमा चाकडीवादको अन्त्य हुदैन् र युवा जमात सबै खाले राजनीतिक/सामाजिक विकृति र विंसगति विरुद्ध आफुलाई प्रतिपक्षको रुपमा उभ्याउदै देश र जनताको आवश्यकताको परिर्वतनको निम्ति समर्पित हुन सक्दैन तवसम्म यो देशले निर्णायक तहमा युवा नेतृत्व प्राप्त गर्ने कुरा असम्भव छ ।

त्यसैले सम्पुण युवा मित्रहरुलाई सादर अनुरोध, बैचारिक लघुताभाषलाई परास्त गर्दै चाकडीबादलाई अन्त्य गर्दै, बास्तविक परिर्वतनको मैदानमा निष्पक्ष र निडर ढंगले आफूलाई उभ्याउने प्रयास गरौँ । निरन्तर देश र जनताको निम्ति आफुलाई निस्वार्थ ढंगले प्रस्तुत गर्दै सबैखाले राजनीतिक / सामाजिक विकृति र विसंगति विरुद्ध आवाज बुलन्द गरौ । यो शिराबाट युवा राजनीति अगाडि बढ्न सकेमात्र युवा मतदाताको बहुमत रहेको हाम्रो देशमा निर्णयाक तहमा युवा नेतृत्वको आगमन सुनिश्चित हुने कुरामा दुविधा छैन् ।

रेशम के. सी
पुर्व अखिल (क्रान्तिकारी) जिल्ला सचिव ।