ताकमकोत पुग्ने पदमार्ग निर्माण

  • १ श्रावण २०७६, बुधबार
  • 3504 पटक पढिएको

बेनी १ साउन । धवलागिरी गाउँपालिका–७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको हो ।

ताकम घनाबस्ती विकास कार्यक्रमको लागि तयार पारिएको डिपीआर अनुसार भिरको उकालो र भिरालो अप्ठ्यारो पहाडमा रेलिङ सहितको १२० मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव तेजिन्द्र थापाले जानकारी दिनुभयो । पदमार्ग निर्माणका लागि २७ लाख रुपैयाँ बिनियोजन भएको थियो । साढे दुई मिटर फराकिलो पदमार्ग निर्माण भएपछि ताकमकोत दर्शन, पुजाआजा र अवलोकनका लागि जाने आउने भक्तजन तथा पर्यटकहरुलाई सहज भएको छ ।

बाइसे चौबीसे राज्यका पालामा निर्माण भएको ताकमकोत स्थित अन्नपूर्ण जगन्नाथ मन्दिर पुननिर्माणको काम भैरहेको छ । मन्दिरको पिल्लर तयार पारेर इटाको पर्खाल लगाउन सुरु गरिएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु गरिएको मन्दिर पुननिर्माणलाई पूर्णता दिन आर्थिक वर्ष २०७६÷७७ मा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र धवलागिरी गाउँपालिकाले पनि बजेट बिनियोजन गरेका छन् ।

ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजना अनुसार पहिलो चरणमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुननिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्रबहादुर थापाले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि स्थानीयबासी र प्रवासीबाट हालसम्म तीस लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएको छ । वि.स १२४६ देखि १५४५ सम्म ताकमकोत बगाले थापाको राज्यको रुपमा थियो । त्यसपछि वि.स १८८२ सम्म त्यहाँ मल्लहरुले शासन गरेको इतिहाँस छ ।

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ ।यहाँबाट गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका पुजारी हेमराज पौडेलले बताउनुभयो ।

पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घँुईचो लाग्ने गर्छ । दैनिक पुजाआजा हुने ताकमकोतमा वडादसैको समयमा बिशेष मेला लाग्छ । भाकल पुरा भएमा परेवा उढाउने, नरिवल फुटाउने र बोकाको कोत परिसरमा रहेका ओदान देवतालाइ बली चढाउने चलन छ । भाकल पुरा होस भनेर भक्तजनहरुले कोतको आलम थानमा पञ्चबली चढाउने गर्छन् ।