बेनी–जोमसोम सडक अवरुद्ध

  • २७ असार २०७६, शुक्रबार
  • 2361 पटक पढिएको

बेनी २७ असार । कालीगण्डकीले सडक कटान गरेपछि शुक्रबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । सिधा यातायात सम्र्पक बिच्छेद भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बेनीबाट जोमसोमतर्फ हिँडेका र जोमसोमबाट बेनीतर्फ हिडेका सवारी साधनहरु बिच बाटोमै रोखिएका छन् । स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु अलपत्र परेका छन् । ढुवानी समेत प्रभावित भएको छ ।

मनसुन सुरु भएसंगै पहिरो, नदी कटान र बाढीका कारण केहीदिनयता बेनी–जोमसोम सडकको यात्रा सकसपूर्ण बनेको छ । सडक मर्मतका लागि कालीगण्डकीको बहाव नघटेसम्म यातायात सञ्चालनमा चुनौति देखिएको छ ।