कालीगण्डकी नदीको कटानले तिप्ल्याङको बेलिब्रिज जोखिममा

  • २५ असार २०७६, बुधबार
  • 3233 पटक पढिएको

 

सन्तोष गौतम
बेनी २५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज जोखिममा परेको छ ।कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तरगत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो । कालीगण्डकीले महभिर तर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ ।

कालीगण्डकीको कटानका कारण मेसिनरी पर्खालको बिमको छेउमा सडक भासिएको छ । केही माथि पक्कि मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परहेको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्कीने खतरा भएको र पुलमा जाने सडक साघुरिएकाले दुर्घटनाको जोखिम बढेको बताए ।

सिमा प्रहरी चौकी भुरुङ तातोपानीको प्रहरी टोलीले बुधबार दिउँसो बेलिब्रिजको निरिक्षण गरेर वरपर खतराको चिन्ह राखेर फर्कीएको छ । चौकीका सई ढकबहादुर हमालले कटानका कारण सडक साघुरिएकाले ठूला र धेरै लोड भएका सवारी वारपार गर्न सावधानी अपनाउनुपर्ने बताए ।
पुलको ठेकेदार कम्पनीका ब्यवस्थापक उमेर गतौलाले कटान रोक्न ठूला ढुंगा राखेर रोकथामको पहल गरिने बताएका थिए ।