मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

  • ३० जेष्ठ २०७६, बिहीबार
  • 1609 पटक पढिएको

 

बेनी ३० जेठ । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार बिममा पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

अध्यक्ष रोकाले वडाले सिफारिस गरेका योजनाहरुलाई बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । बिमको दामडुङ देखि किसानी मावि परिसर जोड्ने पदमार्ग निर्माणमा २८ जना युवाहरु परिचालन भएका छन भने चार लाख रुपैयाँ बजेट बिनियोजन भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

बेरोजगार युवायुवतीलाई रोजगारी प्रदान गर्ने उद्देश्यले संघिय सरकारको कार्यक्रम अनुसार गाउँपालिकाको सबै वडामा रोजगार कार्यक्रम संचालनका लागि ३० लाख रुपैयाँ बजेट उपलब्ध भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।गाउँपालिकाले साझेदारीका लागि २५ प्रतिशत बजेट बिनियोजन गर्ने व्यवस्था छ । मालिकामा छ सय जना भन्दा बढीले वडा मार्फत बेरोजगार फारम भरेका रोजगार कार्यक्रम संयोजक साबित्री गर्बुजाले बताउनुभयो ।

फारम भरेका मध्य विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको उहाँले बताउनुभयो । वडा अध्यक्ष रेशम जुग्जालीको अध्यक्षता र वडा सचिव मिलन थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मालिकाको सात वटै वडामा विभिन्न आयोजना छनौट गरेर कार्यक्रम सुरु गरिएको छ ।

कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजनामा खटिने मजदुरहरुले दैनिक ७५० रुपैयाँका दरले ज्याला पाउने भएका छन् ।