नसर्ने रोगबाट बच्न जिवनशैलीमा सजगता अपनाउनुपर्ने

  • २९ जेष्ठ २०७६, बुधबार
  • 1870 पटक पढिएको

बेनी २९ जेठ । नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको नसर्ने रोगबाट बच्नका लागि जिवनशैलीमा सजगता अपनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि बेनीमा सुरु भएको स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी तालिमको उद्घाटनमा सहभागिहरुले मधुमेह, मुटु, मृगौला, क्यान्सर, दम, मानसिक रोगको समस्या बढेकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले नसर्ने रोगबाट बच्न मदिरा, धुमपान, अस्वस्थ्यकर जिवनशैली र खानपानबाट टाढै रहनुपर्ने बताउनुभयो । जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लीलाधर अधिकारीले नसर्ने रोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धीको आवश्यकता रहेको बताउनुभयो ।

डाक्टर मिलन मल्लले गाउँकै स्वास्थ्य संस्थामा नसर्ने रोग पहिचान र जनचेतना अभिवृद्धीका लागि स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख भिम आचार्यले स्वास्थ्य संस्थामा विभिन्न रोग पहिचानका लागि आवश्यक उपकरण उपलब्ध गराइने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक मनिषकुमार महतोको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले स्वागत गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दीका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।