मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम (तस्बिर सहित)

  • २९ जेष्ठ २०७६, बुधबार
  • 2901 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो ।

महिलाहरुलाई आयआर्जन तर्फ लगाउन उद्यमी बनाउने उदेश्यले आयोजित तालिममा आदर्श हस्तकला उद्योग स्याङ्जाकी सञ्चालिका सुनिता क्षेत्रीले प्रयोगात्मक रुपमा तालिम दिनुभएको थियो । तालिमको अवसरमा महिलाहरुले चुरा पोते समेत उत्पादन गरेका थिए ।
तालिम समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ग्रामीण भेगका महिलाहरुलाई उद्यम र व्यवसाय तर्फ लगाउनको लागि चुरापोते तालिमले टेवा पु¥याएको बताउनुभयो ।

उहाँले ग्रामीण बस्तीलाई समेटीएको धवलागिरी गाउँपालिका क्षेत्रमा महिलाहरु आर्थिक, सामाजिक रुपमा पछाडी परेको कारण गाउँपालिकाले समेत महिलाहरुलाई उद्यमी बन्नको लागि प्रोत्साहन गर्ने बताउनुभयो । कार्यक्रममा तालिमका प्रशिक्षक क्षेत्रीले सिंगारिक सामाग्री बनाउने शिपले व्यवसायि बन्नको लागि सहयोग पुग्ने बताउँदै आधारभुत तालिम लिएकाहरुलाई थप क्षमता तथा शिप विकास आबश्यक रहकोमा जोड दिनुभयो ।

कार्यक्रममा लालिगुराँस क्रिष्टल लघुउद्यमी समुहका अध्यक्ष पूर्णकला पहरे पुनले तालिममा सिकेका शिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन संगम म्याग्दीका उद्यम विकास सहजकर्ता उमा गुरुङले गर्नुभएको थियो ।