बेनीमा गजल उत्सव

  • २५ जेष्ठ २०७६, शनिबार
  • 2787 पटक पढिएको

 

म्याग्दी २५ जेठ । बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले गजल बाचन गरेका थिए ।


सल्यानका सिपी खत्री, बागलुङका राम अबिरल, स्याङ्जाका मिलन समीर, रौतहटकी रेणुका जिसी, नवलपुरका आदर्श सुशील, कैलालीका हिक्मत ढकाल, काठमाडौका भूपि सरोबर, पर्वतका डिआर शर्मा, म्याग्दीका दर्पण रोका र दिपक शर्मा (दिपु)ले गजल वाचन गरेका थिए ।

दिउँसो साढे तीन घण्टा सञ्चालन भएको कार्यक्रममा एक जना गजलकारले कम्तीमा ५ वटाका दरले गजल वाचन भएको थियो । प्रेम, देशको समसायिक अवस्था, सामाजिक अवस्था, बेरोजगारी समस्या जस्ता विषयबस्तुसंग सम्बन्धित गजल वाचन गरिएको थियो ।

अनुप बानियाले गितार र नविन बानियाले बासुरी बजाएर गजल बाचनलाई सांगितिक बनाएका थिए । गजल श्रवणका लागि म्याग्दी, बागलुङ र पर्वतका साहीत्यप्रेमीहरु बेनीमा भेला भएका थिए ।सोही अवसरमा म्याग्दीका साहीत्यकार गणनाथ पौडेलद्धारा लिखित महाकाब्य प्रायश्चितको गृह जिल्लामा लोकर्षण गरिएको थियो । यो पौडेलको तेस्रो कृति हो । म्याग्दी साहीत्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र हिरा पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।