दिवंगत आमाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई सहयोग

  • १३ बैशाख २०७४, बुधबार
  • कमल खत्री
  • 3254 पटक पढिएको

म्याग्दी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका एक घरपरिवारले आफ्नो स्वर्गीय आमाको स्मृतिमा  परोपकारी क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । तातोपानीकी स्वर्गीय पम्फाकुमारी क्षेत्रीका घरपरिवारले मातातिर्थ औँसीको अबसरमा म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई रु ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो ।
बुधवार आयोजिक एक कार्यक्रमका बिच स्वर्गीय क्षेत्रीका घरपरिवारले कोषलाई सो रकम प्रदान गर्नुभएको थियो । सो सहयोग गर्ने स्वर्गीय क्षेत्रीका छोरा, बुहारी ,छोरी र ज्वाइ गरि १० जना सदस्यहरुलाई कार्यक्रममा ओमकुमारी शान्ति कोषको आजिवन सदस्य समेत प्रदान गरि सम्मान गरिएको थियो ।
सहयोगदाता अरुणा क्षेत्री, धर्मेन्द्र क्षेत्री, आशा बानिया, महेन्द्र बानियाँ, लक्ष्मी बोगटी, राजु बोगटी, शेरबहादुर क्षेत्री, कविता क्षेत्री, ओमप्रकाश क्षेत्री, शान्ति क्षेत्रीलाई कोषले आजिवन सदस्यता प्रदान गरेको हो । गरिब तथा विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित कोषलाई पाँच हजार रुपैया भन्दा बढी सहयोग गर्नेलाई आजिवन सदस्यता प्रदान गर्ने व्यवस्था छ ।
उहाँहरुलाई प्रमुख अतिथि सांसद तथा पुर्वराज्यमन्त्री नरेवदी पुन, कोषका अध्यक्ष राजेश शाक्यले आजिवन सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै साँसद पुनले ओमकुमारी शान्ति कोषले परोपकारी क्षेत्रमा गरेको कार्य प्रशंसनिय रहेको बताउँदै अक्षयकोष बनाउने अभियानको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले कोषले सञ्चालन गरेको अभियानमा दिवंगत आमाको स्मृतिमा सहयोग गरेर क्षेत्री र बोगटी परिवारले रचनात्मक काम गरेकोे बताउनुभयो ।
३२ जना बिरामीलाई ७४ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग जुटाएको कोषमा हालसम्म ५२४ जना भन्दा बढीले आजिवन सदस्यता लिएका छन भने सत्तरी लाख भन्दा बढी सहयोगको प्रतिवद्धता प्राप्त भएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन कोषका सदस्य सन्दिप खत्रीले गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l