‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)

  • १२ जेष्ठ २०७६, आईतवार
  • कमल खत्री
  • 3540 पटक पढिएको

कमल खत्री
म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ ।

ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुंगाको अवलोकनमा पुग्नुभएका बेनीका गोरखनाथ सुवेदीले बताए । ‘‘ ढुंगाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला ? भन्ने लागेको थियो, तर साच्चीकै दुरुस्तै सुनीयो , यस क्षेत्रको प्रचार प्रसार गर्न सके यहाँ पर्यटकहरुको ओइरो लाग्ने सम्भावना छ’’–सुवेदीले भने ।

यो ढुङ्गामा पुग्नको लागि बेनी–जोमसोम सडकखण्डले समेटीएको काभ्रे गाउँदेखि करिब पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण रेञ्जको हिमशृङ्खलालाइई समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय रिता बरुवालले बताइन् ।

‘‘ बाजा बज्ने ढुंगा खोज्दै कहिलेकाही पर्यटकहरु आउने गर्छन्, थोरै मात्रैलाई यस ढुंगाको आश्चर्यबारे जानकारी छ, यहाँसम्म पुग्ने सहज पदमार्गको व्यवस्थापन र बाजा बज्ने ढुङ्गाको प्रचार प्रसार गर्न सके पर्यटक आगमन बढाउन सकिने हाम्रो विश्वास छ’’–उनले भनीन् । उनका अनुसार, यस ढुङ्गामा खडेरी परेर पानी नपरेको समयमा स्थानीयले पुजा गरि बाजा ढुङ्गाको बाजा बजाएर पानी डाक्ने चलन समेत रहेको छ ।

ढुङ्गाको बाजा बजाउँदा पानी पर्ने माध्यताले बर्षातको समयमा यस ढुङ्गामा स्थानीयले बाजा बजाउँदैनन् । बाजा ढुङ्गामा जाने पर्यटकहरु यस ढुङ्गाको अलौकिक कला र संगीतबाट अचम्बीत हुने गरेका छन भने प्राकृतिक भ्युटावरको रुपमा रहेको यस ढुङ्गाको टुप्पोमा पुगेर प्राकृतिक भुबनोटलाई अवलोकनमा समेत रमाउने गर्छन् ।

ढुङ्गाका बाजा बजाउन जानेहरुको लागि अहिले गाउँदेखि माथि जंगलसम्म सहज हिँडडुल गर्ने बाटो भएपनि बाजा बज्ने भिरमा पुगेपछि भने साँघुरो डोरोमा हिड्नुपर्ने बाध्यता रहेको छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छी समेत नजीकै रहेकाले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकिकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताए । उनले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु जोड्ने गरि पूर्वाधार निर्माण र प्रचार प्रसारमा वडा कार्यालयले जोड दिएको बताउँदै आबश्यक पूर्वाधार निर्माणको पहल भैरहेको बताए ।

संरक्षणको अभाबमा बाजा ढुङ्गा संकटमा
नौमती बाजाको आकार रहेका चुचुरा बजाउँदा बाजाको आकार अनुसारकै आवाज निस्कने बाजा ढुङ्गा संकटमा परेको छ । ढुङ्गाको अवलोकनमा जाने स्थानीय र पर्यटकहरुले समेत ढुङ्गाले जोडले आवाज निस्कने ठाउँमा बाजा बजाउँदा बाजाका आकृतिहरु मेटिँदै जान थालेको छ । पहिले सबै बाजाको वास्तविक आकार भएपनि अहिले बजाउँदै जादा सबै बाजाका आकृतिहरु भाँचिन थालेका हुन् ।

दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने भएपनि अन्य बाजाका आकृतिहरु भाँचिएको स्थानीयको भनाई छ । बाजाढुंगाको संरक्षण र पर्यटन पूर्वाधार निर्माणको लागि स्थानीयले निरन्तर माग गरेपनि कुनैपनि निकायबाट सम्बोधन नभएको स्थानीय अगुवा सुनबहादुर विश्वकर्माले बताए । समयमै नौमति बाजा ढुङ्गाको संरक्षण नगर्ने र जथाभावि बजाउँदै जादा कुनै समय यो ढुङ्गाको अवशेष समेत मेटिने भएकाले यसतर्फ सम्बन्धित सरोकारवालाले चासो दिनुपर्ने स्थानीयबासीको भनाई छ ।

‘लुकेको हिरा’
बेनी–जोमसोम सडकखण्ड अन्र्तगत काभ्रे गाउँ ‘लुकेको हिरा’को नामले चिनिन्छ । बर्षेनी गाउँहुँदै हजाराँै पर्यटकहरु ओहोर दोहोर गर्ने भएपनि यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकिकृत विकास र प्रचार प्रसार नहुँदा यस गाउँले पर्यटन मार्फत लाभ लिन सकिरहेको छैन् । धवलागिरी र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुंगा नजीकको दुरीमा छन् ।

रुप्से झरना र अन्ध गल्छीमा सामान्य पर्यटन पूर्वाधार बनेपनि बाजाढुङ्गा भने सरोकारवालाको नजरमा पर्न सकेको छैन् । तीन वटै पर्यटकीय स्थललाई एकिकृत रुपमा पर्यटन पूर्वाधार र प्रचार प्रसार संगै काभ्रेमा घरबास(होमस्टे) सञ्चालन गर्न सकेमा यस क्षेत्रले पर्यटन विकास मार्फत मुहार फेर्न सक्ने सम्भावना रहेको स्थानीय अगुवा विश्वकर्माले बताए ।

मान्यता यस्तो छ
प्रकृतिको बरदानको रुपमा रहेको बाजा ढुङ्गाको किम्बदन्ती निकै रोचक छ । परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमति बाजा बजाउनेहरुले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान प्रशन्न भएर उनीहरलाई वर माग्न लगाएका रहेछन् । बाजा बजाउनेहरुले सुनको बर मागे बमोजिम भगवानले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन् सकाइदिएछन् । खोला सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरुलाई बञ्चरोले सुुनको ढिकमा एक पटक हान्नु र जति आउँछ त्यति लगेर जानु भन्ने आदेश दिएछन् ।

खोला सुकेपछि बाजा बजाउनेहरुले एकपटक बञ्चरोले हानेछन् । त्यसो गर्दा सुनको सानो चोईटा आएछ । सुनको चोइटा सानो भएपछि उनीहरुले खोला सुकेको मौकामा पुनः अर्कोपटक पनि बञ्चरोले हान्दा भगवान रिसाएर रुप्से खोलामा भिषण बाढी आउँदा त्यहाँ भएका सबै बाजा बजाउनेहरुलाई बगाएको र त्यहाँ रहेका नौमति बाजा भने यसै ढुङ्गामा बाजाको आकृतिको स्वरुपमा बदलिएको मान्यता रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l