बेनी नगरपालिकाको मेयरमा काँग्रेसबाट हरिकुमार श्रेष्ठको उम्मेदवारी पक्का

  • ११ बैशाख २०७४, सोमबार
  • 3053 पटक पढिएको

म्याग्दी, ११ वैशाख । नेपाली काँग्रेसले बेनी नगरपालिकाको मेयरमा जिल्ला सचिब हरिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगर समितिले श्रेष्ठसहित पूर्व सहसभापति एवँ महासमिति सदस्य नेत्र महत र सचिब क्या. मिनबहादुर कार्कीलाई मेयरको उम्मेद्वार बनाउने सिफारिश गरेको थियो ।

काँग्रेस जिल्ला कार्य समितिले मेयरको उम्मेद्वार टुगो लगाउन पदाधिकारीलाई जिम्मा दिएको थियो । काँग्रेस पदाधिकारीको सोमबार सम्पन्न वैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेद्वार बनाउने निर्णय गरेको काँग्रेसका प्रचारविभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष समेत हुन् । शिक्षाप्रेमी, सामाजिक व्यक्तित्व र आर्थिक पारदर्शीता उनको विशेषता हो । उनकै नेतृत्वमा स्थापित नीलगिरि विकास बैंक स्थापना भएको थियो । अहिले पोखरास्थित गरिमा र नीलगिरि एकआपसमा गाभेर गरिमा विकास बैंक बनेको छ ।सर्वसम्मत निर्णय गरेपछि काँग्रेस एकढिक्का भएर चुनाबमा होमिने संयोजक श्रेष्ठले जानकारी दिए ।

बेनी नगरापलिकामा एमालेले पनि छिट्टै उम्मेद्वारको नाम टुगो लगाउने भएको छ । एमालेले आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठ, मोर्चा प्रमुख राजकुमार थापा र प्रचार विभाग प्रमुख सुरत केसीको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ । माओबादी केन्द्र पनि नगरकमिटी अध्यक्ष शेरबहादुर केसी र म्याग्दी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापा मध्ये एकजनालाई उम्मेद्वार बनाउने तय गरेको छ ।