युवालाई सवारी चालक तालिम

  • ५ जेष्ठ २०७६, आईतवार
  • 1969 पटक पढिएको

 

बेनी ५ जेठ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको आयोजनामा आइतबार बेनीमा युवाहरुका लागि सञ्चालित सवारी चालक तालिम सम्पन्न भएको छ ।सिपको विकास गरि स्वरोजगार र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सवारी चालक धवलागिरी गाउँपालिकाका १० जना युवाहरुलाई सवारी चालक तालिम दिएको हो । २१ दिनसम्म सञ्चालन भएको तालिममा जिप, कार र ट्याक्सी लगायत हलुका सवारी चलाउने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप प्रदान गरिएको थियो ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सिपमुलक तालिमको माध्यमबाट स्वरोजगार बन्न सकिने बताउदै उद्यम, व्यवसायमा लाग्न आग्रह गरेका थिए । समितिका सन्तोष ढुङ्गानाले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख बरिष्ठ घरेलु उद्योग विकास अधिकृत सरिता गौतमले अर्को चरणमा बेनी नगरपालिकाका १० र धवलागिरीका थप १० जनालाई सवारी चालक तालिम दिन लागिएको बताए ।