पात्लेखेतमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाउने नगरपालिकाको निर्णय

  • ४ जेष्ठ २०७६, शनिबार
  • 2516 पटक पढिएको

म्याग्दी, ४ जेठ । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको आरसीयुपिको भवनमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाईने भएको छ । शुक्रवार बसेको बेनी नगरपालिका कार्यपालिका बैठकले कृषि सेवा केन्द्र रहेको भवनमा सञ्चालित धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कूललाई आगामी असार मसान्तभित्र सरकारी भवनबाट विद्यालय हटाउने निर्णय गरेको हो ।


सरकारी भवनमा निजि विद्यालय सञ्चालन भएको व्यापक जनगुनासो र सञ्चार माध्ययममा समेत समाचार बाहिर आएपछि कार्यपालिका बैठकले सरकारी भवनमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको कार्यपालिका बैठकले बेनी–अर्थुङ्गे– पात्लेखेत सडक स्तरोन्नतीको लागि जेठ ४ गतेदेखि २४ गतेसम्म सो सडक बन्न हुने भएकाले सो सडक हुँदै आवत जावत गर्ने सवारी साधनहरुलाई बेनी–गलेश्वर–घतान र बेनी डम्मरा थाकनपोखरी सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्ने गरि आवत जावत गर्न लगाउने निर्णय समेत गरेको छ ।