२६ औ मदन आश्रित स्मृति दिवस मनाइयो

  • ३ जेष्ठ २०७६, शुक्रबार
  • 2041 पटक पढिएको

 

बेनी ३ जेठ । बेनीमा शुक्रबार २६ औ मदन आश्रित दिवस मनाइएको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा दिवस मनाइएको हो ।

जनताको बहुदलीय जनवादको बिचारका प्रर्वद्धक नेता भण्डारी र आश्रितको चितवनको दासढुङ्गामा २०५० जेठ ३ गते रहस्यमय दुर्घटनामा निधन भएको थियो ।पार्टी एकताको एक वर्षको सन्दर्भमा आयोजित बिचार गोष्ठिमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्वर्गीय भण्डारीको बिचार र भावना अनुसार कम्प्युनिष्ट पार्टीलाई स्थापित गराउन जनताको पक्षमा काम गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

पार्टी एकताको सबै प्रक्रियालाई छिटो सकेर राजनीतिक दस्तावेज तयार पार्न र पार्टीलाई बलियो बनाउनुपर्ने नेता थापाको भनाई थियो । सांसद समेत रहनुभएका थापाले जनताको पक्षमा जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

देशको अर्थतन्त्रमा सुधार आएकाले आगामी आर्थिक वर्षको बजेटमा घोषणा पत्र अनुसारका कार्यक्रमलाई समेटिने बताउनुभयो । नेकपाका प्रदेश सदस्य तथा पूर्व सांसद नवराज शर्माले प्रतिस्पर्धाको माध्यमबाट कम्युनिष्ट बिचार स्थापित गराउन सकिन्छ भन्ने मान्यता मदन भण्डारीले स्थापित गराउनुभएको बताउनुभयो ।

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।