रघुगंगामा योजना तर्जुमा सुरु, वडा स्तरमा गौरवका योजना (फोटो फिचर)

  • ३ जेष्ठ २०७६, शुक्रबार
  • 2435 पटक पढिएको

म्याग्दी, २ जेठ । विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई म्याग्दीको रघुगंगा गाउँपालिकाले हटाउने भएको छ । आगामी आर्थिक बर्ष २०७६/७७ को लागि वडा स्तरबाट योजना तर्जुमामा जुटेको गाउँपालिकाले वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु मात्रै माग गरेको छ भने रु ५ लाख भन्दा कम बजेटका योजना बनाउन रोक लगाएको छ ।
‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरि वडास्तरमा योजना तर्जुमा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए ।

‘‘यस बर्ष रघुगंगामा २६४ वटा योजना कार्यान्वयनमा छन्, आगामी बर्ष योजनाको सिमा १ सयको हाराहारीमा बनाउने हाम्रो योजना छ, साना बजेटका योजनाले उपलब्धी निकाल्न कठिन देखिएपछि टुक्रे योजनाको अन्त्य गर्न जुटेका हाँै’’–गाउँपालिका अध्यक्ष भण्डारीले भने ।
गाउँपालिकाले हरेक वडामा कम्तीमा एउटा योजना २५ लाख देखि ५० लाख सम्मको हुनुपर्ने बाध्यकारी मार्गदर्शन बनाएको छ । वडा स्तरको योजना तर्जुमाको लागि तयार गरिएको ६ बुँदे मार्गदर्शनमा बजेटको सिमादेखि योजना छनौट गर्ने क्षेत्रलाई समेत तोकिएको छ । खरिदजन्य र क्षमता अभिबृद्धीका तालिम सञ्चालन गर्ने कार्यक्रमको लागि वडा स्तरमा पठाइएको बजेटको सिलिङबाट योजना छनौट नगरिकन गाउँपालिका कार्यपालिका मार्फत बजेट विनियोजन गरिनेछ ।

चालु आर्थिक बर्षमा सञ्चालित विकास निर्माण योजनाहरुको समिक्षा सहित वडा स्तरमा योजना तर्जुमा गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दिगदर्शन २०७४ ले निर्दिष्ट गरेको सहभागीता मुलक योजना निर्माण प्रकृया मार्फत स्थानीय तहको योजना तर्जुमा र कार्यान्वय गर्ने सन्दर्भमा आगामी आबको लागि कार्यपालिका बैठकबाट ६ वटा मार्गदर्शन तयार गरिएको छ उनले जानकारी दिए । ‘‘ योजना छनौट सम्बन्धी दिगदर्शनले निर्दिष्ट गरेको ७ वटा चरणमध्ये बस्ती स्तरबाट योजना छनौट भैसकेको छ , बस्ती स्तरका योजनालाई वडा स्तरमा व्यापक छलफलबाट योजना संकलनको चरणमा छाँै, केही दिनमा गाउँपालिकाको सबै वडाबाट योजना तर्जुमाको काम टुङ्गीने क्रममा छ’’–प्रमुख प्रशासकिय अधिकृत थापाले भने ।

वडा स्तरमा योजना तर्जुमा सुरु
रघुगंगा गाउँपालिकाले वडा नम्बर ५ झिँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमंगलेमा वडा स्तरको योजना तर्जुमा सम्पन्न गरेको छ । जेठ ८ भित्रै वडा स्तरमा योजना तर्जुमा सक्ने लक्ष्य राखेको रघुगंगाले वडा स्तरबाट अधिकतम रु ५० लाख बजेट सिलिङ दिएको छ । गाउँपालिकाको मार्गदर्शन बमोजिम पाखापानी, चिमखोला र कुइनेमंगलेले आफ्नो वडामा गौरबको योजना सहित योजना तर्जुमालाई टुंगो लगाएका छन् ।

वडा नम्बर ६ पाखापानीमा कोटगाउँ–रायखोर सडक, चिमखोलामा दग्नाम–दरमिजा–चिमखोला सडक र कुइनेमंगलेमा नदी कटानले बगाएको रितुङ मावि पुननिर्माण योजनालाई गौरबको योजनामा छनौट गरिएको छ । योजना तर्जुमा भएका वडाहरुबाट सडक, शिक्षा, स्वास्थ्य, पदमार्ग लगायतका योजनाहरु प्राथमिकीकरणमा परेको गाउँपालिकाका योजना शाखाका प्रमुख योगेन्द्र बानियाँले जानकारी दिए ।

अनुमानित बजेट यस्तो छ
आगामी आर्थिक बर्षको लागि रघुगंगा गाउँपालिकामा करिब रु १७ करोड ४६ लाख ३१ हजार बराबरको बजेट अनुमान गरिएको छ । संघिय सरकारबाट १४ करोड ३५ लाख , गण्डकी प्रदेश सरकारबाट १ करोड ५१ लाख ३१ हजारको सिलिङ सिमा तोकिएको छ भने गाउँपालिकाको यस बर्ष खर्च ेहुन नसकेर कोषमा रहनसक्ने १ करोड र आन्तरिक स्रोतबाट ४० लाख बजेटको अनुमानित सिलिङ बनाइएको गाउँपालिकाले जनाएको छ । संघिय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट सम्बन्धि अनुमानित सिलिङ, गाउँपालिकाको आन्तरिक आम्दानी र खर्च नभएर रहनसक्ने बजेटलाई आधार बनाएर सो बजेट अनुमान गरिएको हो ।

गाउँपालिकाले चालु तर्फ ५ करोड ८१ लाख, पूजीगत र खरिदमा १ करोड ३९ लाख, सम्पुरक कोषमा ७५ लाख, विपद व्यवस्थापन कोषमा २० लाख, आपतकालिन पूर्वाधार विकास योजना तथा कार्यक्रममा ३५ लाख, गाउँपालिका स्तरीय योजनामा ४ करोड ४७ लाख १२ हजार, वडा स्तरीय योजनामा ४ करोड २ लाख १९ हजार र गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण, सुरक्षा तथा बचाउ कार्यक्रमको लागि ४७ लाख बजेट सिलिङ तयार गरि योजना तर्जुमामा जुटेको छ ।