मिस्त्रीखोलाको सुरुङ जोडियो

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1464 पटक पढिएको

 

म्याग्दी ३१ बैशाख । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । रोवस्ट इजर्नी प्रा.लीद्धारा निर्माणाधिन ४२ मेगावाट क्षमताको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ जोडिएको हो । सन. २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो ।

बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार तीन सय ४४ दशमलब पाँच मिटर सुरुङ खनेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो ।

बाँध, विद्युतगृह बनाउने, पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण अन्तिम चरणमा पुगेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भुमिगत हो ।


पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भुमिगत पोखरी बनाइएको हो । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान कार्य असी प्रतिशत सकिएको छ । आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अरब ६४ करोड रुपैयाको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।
प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।
सब स्टेशन र प्रशारण लाइन निर्माणमा भएको ढिलाईले आयोजना निर्माण प्रभावित भएको छ । मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो ।
नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ भने ५ मेगावाटको घलेम्दीखोला निर्माणाधिन अवस्थामा छ । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको पूर्वाधार निर्माण सुरु भएको छ ।