युवाहरुले सुरु गरे सामुहिक तरकारी खेती (फोटो फिचर)

  • २० बैशाख २०७६, शुक्रबार
  • कमल खत्री
  • 5294 पटक पढिएको

कमल खत्री
बेनी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले सामुहिक तरकारी खेती सुरु गरेका छन् । ८ रोपनी जग्गा भाडामा लिएर ४ जना युवाहरुले व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टी बानियाँ, मनोज कार्की लगायतका युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् ।

५ जनाले १० लाख लगानी गरी सुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेडा, काँक्रो, खुर्सानी, साग लगायतका तरकारी खेती सुरु गरेको युवा कृषक गणेश केसीले बताउनुभयो । ‘‘ हामी अहिले फरक फरक क्षेत्रमा क्रियाशिल युवाहरु मिलेर कृषिमा हात हालेका हौँ, कृषिमा सम्भावना देखेरै लगानी गरेका छौँ, अहिले सुरुवात चरणमा छाँै, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ’’– केसीले भन्नुभयो ।
म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ बर्षसम्मको लागि भाडामा लिएका युवाहरुले गोलभेडा खेतिको लागि ४ वटा टनेल निर्माण गरिसकेका छन् ।

तरकारी खेतीमा हाईटेक प्रविधिको उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको कृषक मनोज कार्कीले जानकारी दिनुभयो । तरकारी खेतीमा थोपा सिचाई र प्लाष्टिक छापाको प्रविधि प्रयोग गरिएको छ । तरकारी खेती संगै माछापालन, फुलखेती, कुखुरापालन समेत सुरु गर्ने तयारी गरिएको अर्का युवा कृषक जगत बानियाँले जानकारी दिनुभयो । कृषि प्राविधिक समेत रहनुभएका बानियाँका अनुसार, भाडामा लिईएको जग्गालाई घेराबार गर्ने , माछापालन र कुखुरापालनको लागि पोखरी र खोर निर्माणको पूर्वाधार निर्माण सुरु गर्ने तयारी गरिएको छ ।


सो कृषि उत्पादन केन्द्रमा अहिले नियमित २ देखि ४ जनाले रोजगारिको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषि उपजलाई बजारीकरणको समस्या नरहेकाले युवाहरुले सुरु गरेको कृषि खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मिनबहादुर कार्कीले बताउनुभयो । यस केन्द्रलाई कृषि उपज उत्पादनसंगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरुको भनाई छ ।


कृषि पेशामा युवाहरुको आकर्षण बढाउनको लागि आफुहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना बनाएको कृषक बानियाँले बताउनुभयो । उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासको रुपमा मानव मुत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l