पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै

  • १९ बैशाख २०७६, बिहीबार
  • कमल खत्री
  • 3916 पटक पढिएको

कमल खत्री

म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो ।  टोड्के हिल रिसोर्ट प्रालिले करिब ३ करोड लगानीमा ६० जना बढी क्षमताको बास बस्न सक्ने रिसोर्ट निर्माण गरेको प्रा.लिका सञ्चालक एवम् निर्माण समितिका संयोजक भिम शेरचनले बताउनुभयो । उहाँका अनुसार, रिसोर्टको वैशाख २६ देखि २८ गतेसम्म विविध साँस्कृतिक कार्यक्रमका साथ औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ ।

गत जेठदेखि निर्माण सुरु भएको रिसोर्टमा अहिले ३३ जना क्षमताको व्यवस्थित कोठा, २५ जनालाई टेण्ट सुविधा र ४ जना क्षमताको विशिष्ट अतिथि गृहको पूर्वाधार बनाइएको प्रा.लिका अध्यक्ष मिनबहादुर पाईजाले जानकारी दिनुभयो । कोठाभित्रैबाट दन्तेलहर हिमालको अवलोकन गर्न सकिने रिसोर्टमा सेमिनार हल समेत निर्माण गरिएको छ ।  गत जेठदेखि पूर्वाधार निर्माण सुरु भएको रिसोर्टमा ९ जना संस्थापक रहेको प्रा.लि मार्फत ३२ जनाले लगानी गरेका छन् । बेनीदेखि नजिकको पर्यटकीय स्थलको रुपमा चिनिएको टोड्केमा पर्यटकहरुको सुविधाको लागि प्रा.लिले गाडीको समेत व्यवस्था मिलाएको छ ।

औपचारिक उद्घाटनको तीन दिन बिशेष छुटका साथ पर्यटकहरुलाई आवास र खानाको व्यवस्था गर्नुको साथै स्थानीय कलाकारहरुको बिशेष साँगेतिक प्रस्तुती समेत राखिएको छ । समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल टोड्के क्षेत्रमा पर्यटन विकासमा रिसोर्ट महत्वपूर्ण आधार बन्ने देखिएको छ । ‘‘ टोड्के क्षेत्रमा आउने पर्यटकहरु खान र बस्नको अभाबले समस्यामा परेपछि रिसोर्ट सञ्चालन गरका हौँ, रिसोर्टको साथै सार्वजनिक सौचालय लगायतका पूर्वाधार समेत निर्माण गरेका छौँ’’–अध्यक्ष पाईजाले भन्नुभयो । प्रा.लिले साढे ४ रोपनी जग्गा गरिद गरेको छ भने आबश्यक पर्ने थप जग्गा स्थानीय सिद्ध सामुदायिक बन झिँ संग भाडामा लिने सम्झौता गरि पूर्वाधार निर्माण गरेको छ ।

आर्गानीक स्वादको आकर्षण
बेनीदेखि नजीकको दुरीमा रहेको पर्यटकीय टोड्के क्षेत्रमा पर्यटकहरुको आगमन बढाउन निर्माणधिन रिसोर्टमा झिँ, पूर्णगाउँ, डडुवा, वाखेत, कुहुँ, पात्लेखेत लगायतका गाउँमा उत्पादन हुने स्थानीय कृषि उपजहरुलाई नै उपयोग गरि आर्गानिक परिकारहरु आकर्षणको रुपमा रहने अर्का सञ्चालक मोहन खत्री बताउँछन् । कोदो र फापरको ढिँडो, सिमीको दाल, मुलाको अचार , सिन्की र गुन्द्रुकको परिकारका स्वाद पर्यटकहरुलाई उपलब्घ गराइनेछ । टोड्केको मुला यस क्षेत्रमा लोकप्रिय मानिन्छ ।
रिसोर्टबाटै हिमालको दृष्यावलोकन
रिसोर्टबाटै संसारको सातौँ अग्लो धौलागिरि हिमाल सहित अन्नपूर्ण रेञ्जका एक दर्जन हिमालहरुलाई नजीकबाट नियाल्न पाउँनु टोड्ेको मुख्य बिशेषता रहेको छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमाललाई रिसोर्टभित्रबाटै अवलोकन गर्न सकिन्छ । आँखै अगाडी दर्जन बढी हिमालको अवलोकन गर्न सकिने टोड्के क्षेत्रको विकासमा रिसोर्ट सञ्चालन संगै थप पर्यटक आगमन बढ्ने विश्वास लिईएको टोड्के क्षेत्रविकास कोषका अध्यक्ष बाबुराम आचार्य बताउँछन् ।

‘‘ कोषले यो क्षेत्रको विकासमा निरन्तर पहल गर्दै आएको छ, बिगतमा २ वटा महोत्सव नै सम्पन्न गरिसकेका छौँ, तर यहाँ बस्न र खानकै समस्या थियो, अब त्यो समस्या रिसोर्टले हल गरेको छ, टोड्केको विकासमा यसले महत्वपूर्ण भुमिका खेल्ने हाम्रो अपेक्षा छ’’– अध्यक्ष आचार्यले भन्नुभयाे ।  धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश मार्गमा अवस्थित टोड्केमा अहिले झिँ, वाखेत र पूर्णगाउँबाट सडक सञ्जाल र पदमार्गले जोडिएको छ ।

सदरमुकाम बेनीदेखि नजीक रहेको र सवारी साधनको सहज पहुँच रहेकाले पनि टोड्केलाई जिल्लामा भित्रने पर्यटकहरुको रोजाईमा पार्न सकिने सम्भावना छ । टोड्के धुरीबाट मनोरम हिमशृङ्खलाको अवलोकन संगै कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका दर्जनौँ बस्तीहरुको भुभागलाई एकै ठाउँबाट अवालकेन गर्न सकिन्छ भने बसन्त ऋतुमा लालिगुराँस र हिउँदमा हिउँमा रमाउन सकिने थप आकर्षण समेत रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l