आफन्तको स्मृतिमा गोरेटो बाटो निर्माण

  • १२ बैशाख २०७६, बिहीबार
  • 425 पटक पढिएको

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुकमा एक व्यक्तिले आफ्नो दिवंगत छोराको स्मृतिमा गोरेटो बाटो निर्माण गर्नुभएको छ । कृष्ण आधारभुत विद्यालयका तत्कालिन प्रअ समेत रहेका स्वर्गीय धन बहादुर पुर्जाको स्मृतिमा उहाँका बुबा लाल बहादुर पुर्जाले रु ५० हजार लगानीमा गोरेटो बाटो निर्माण गर्नुभएको हो ।

हाल युकेमा रहनुभएका पूर्व गाविस उपाध्यक्ष समेत रहनुभएका पुर्जाले आफ्नो दिवंगत छोराको स्मृतिमा बाँदुकको गाइओटे चौतारादेखि लेक जाने अप्ठ्यारो रहेको ठाउँमा बाटोलाई पराकिलो बनाउनुभएको हो ।

पुर्जाको परिवारबाट साँघुरो डोरो मात्रै रहेको ठाउँमा गोरेटो बाटोलाई फराकिलो बनाएपछि स्थानीयबासीलाई आवत जावतमा सहजता मिलेको स्थानीय लक्षुमन पुर्जाले जानकारी दिनुभयो । दैनिक रुपमा घाँस दाउरा गर्न बनतर्फ जाने भिरको अप्ठ्यारो ठाउँमा पहाडलाई समेत काटेर बाटोलाई फराकिलो बनाइएको छ ।