अख्यितारको भुमिका जनअपेक्षा अनुकुल भएन : सरोकारवाला

  • १२ बैशाख २०७६, बिहीबार
  • 2282 पटक पढिएको

म्याग्दी, १२ वैशाख । म्याग्दीका सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अख्तियारले सानालाई तर्साउने र ठुला अनियमितता र भष्ट्राचारका घटनामा जनताको अपेक्षा बमोजिम नतिजा दिन नसकेको गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी जिल्ला स्थित ६ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तह विरुद्ध परेका उजुरीहरुलाई लिएर अनर्गल प्रचार गर्ने र जनतामा भ्रम सिर्जना गर्ने कार्यहरु भैरहेको भन्दै ध्यानकर्षण गराएका थिए । आरोप पुष्ठी हुन नसके गलत नियत राखेर उजुरी दिने व्यक्तिलाई समेत कारबाहीको भागीदार बनाउनुपर्ने कार्यक्रममा जनप्रतिनिधिहरुले माग गरेका थिए । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री थापा गुरुङले सरकारी र सार्वजनिक सेवा प्रवाहमा शुसासन र विकास निर्माणमा पारदर्शीताको लागि अख्तियारको भुमिकालाई केन्द्रित गरिएको बताउनुभयो ।

उहाँले अख्तियारले आफ्नो क्षेत्राधिकारलाई बलियो बनाएको र परेका उजुरीहरुको अनुसन्धानको क्रममा दोषि ठहर हुने सबै तहका व्यक्तिहरुमा कानुनी कारबाही हुने प्रष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा विकास निर्माण योजनाहरुको प्रभाबकारी कार्यान्वनयको लागि स्थानीय तहहरुले आबश्यक समन्वय नगरेको बताउँदै आफ्नो कार्यालयबाट आबश्यक पहल भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भष्ट्राचार कमजोरी मात्रै नभएर प्रबृति समेत रहेकाले यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयोगका उपसचिब मेघनाथ रिजालले म्याग्दीमा चालु आर्थिक बर्षमा ५२ वटा उजुरीमा अख्तियारमा दर्ता भएको मध्ये ३३ वटा उजुरी अनुसन्धान गरि फस्यौट भएको जानकारी गराउनुभएको थियो । चालु आर्थिक बर्षमा पोखरा कार्यालयमा मात्रै ६७२ वटा उजुरी परेकोमा ३६४ वटा उजुरी फस्यौट भएको उहाँले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख कासीराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिब ज्ञानेन्द्र पौडेलले अख्तियारको क्षेत्रधिकार, उजुरीको अबस्था लगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो ।