भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण

  • ७ बैशाख २०७६, शनिबार
  • 1912 पटक पढिएको

म्याग्दी ७ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।


गाउँपालिका स्तरीय विस्तारित बैठकबाट अध्यक्ष र सचिब चयन गरिएलगत्तै वडा स्तरमा अगुवा कार्यकर्ताहरुको भेला गरि वडा कमिटीलाई पूर्णता दिईएको नेकपा रघुगंगा गाउँपालिका स्तरीय कमिटिका सचिब हरि भण्डारीले जानकारी दिनुभयो । भगवतीमा ७ सदस्यीय नेकपाको सल्लाहकार कमिटि समेत गठन गरिएको छ ।


भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका जिल्ला संयन्त्र सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जनताको सेवा र काममा सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेकपाको पहलमा रघुगंगा क्षेत्रमा भएका विकास निर्माण योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा रचनात्मक भुमिका खेल्न समेत सुझाब दिनुभयो ।


कार्यक्रममा नेकपाका नेता तर्क केसी, नेकपा रघुगंगाका सचिब हरि भण्डारी र वडा अध्यक्ष रिम कटुवालले जनताका हरेक अप्ठ्यारा र दुखमा सक्रिय भएर लाग्न वडा कमिटीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।