म्याग्दीमा असिनाले क्षति

  • ४ बैशाख २०७६, बुधबार
  • 2167 पटक पढिएको

बेनी ४ बैशाख । म्याग्दीको विभिन्न ठाउँमा मंगलबार दिउँसो परेको असिना पानीले खेतीबालीमा क्षति पु¥याएको छ ।बेनी नगरपालिका ३ भकिम्लीको मरेकमा असिनाले चुटेर खेतीबाली नष्ट गरेको स्थानीय कृषकहरुले जानकारी दिएका छन् । मरेकका कृषक इन्द्र थापाका अनुसार असिनाले चुटेर हिउँदेबाली, फलफुल र तरकारी बाली नष्ट भएको छ ।

सुन्तलाको फुल असिनाले झारेको छ । भित्र्याउने बेला भएको गहुँको दाना भुइमा झारेको छ । तरकारी र एकोहोरो खन्ने बेला भएका मकैका बिरुवा असिनाले चुटेर ठिलु ठिलु पारेको छ । मरेकको सागै सिंगा र बरंजामा पनि असिना परेको छ । बास्कुना र सुर्केमेलाको सिमानामा रहेको ठाडो खोल्सामा ठूलो बाढी आएको थियो । यसैगरी मालिका गाउँपालिका ५ देविस्थानमा चट्याङले लागेर दाङ्गाकी मिसा सिउथानी घाइते भएकी खबर प्राप्त भएको छ ।

बैसरीमा खसेको सुख्खा पहिरोले बेनी जोमसोम सडक बिहान देखि दिउँसोसम्म अवरुद्ध भएको थियो । बेनी जोमसोम कोरला सडक आयोजनाले एक्साभेटर परिचालन गरि पहिरो पन्छाएर सडक खुलाएको थियो ।