भौगोलिक विविधता भित्रको अथाह पर्यटकीय सम्भावना बोकेको रघुगंगा (फिचर)

  • ३ बैशाख २०७६, मंगलवार
  • 4285 पटक पढिएको

आनन्द रिजाल
अन्ततः मैले रघुगंगा गाउपालिका भित्रका सबै गाउँहरु घुमेर सक्ने सपना २०७५ चैत १० गते पुरा गर्न सफल भए । हरेक गाउँहरुको छुट्टाछुट्टै पहिचान रहेको सुनेता पनि आफ्नै आँखाले देख्दा धेरै नै फरक हुने रहेछ ।

रघुगंगा एक आफैमा अनेक विविधता बोकेको गाउँपालिका हो । वडा १ वेग बाट वडा ८ कुईनेमङ्गले सम्म फैलिएको यो गाउँपालिकालाई बिचमा धौलागिरी हिमाल बाट बगेर आउने रघुगंगा नदिले काटेको छ । जुन नदिबाट नै गाउँपालिकाको नामाकरण गरिएको छ ।

मेरो भर्मणका अनुभवले यस् क्षेत्रको बिकास पर्यटन क्षेत्रमा नै रहेको बुझेको छु । वडा १ मा पर्ने वेग जहाँ नेपालकै लामो झोलुङ्गे पुल निर्माण भैसकेको छ । जसले रघुगंगाकै छुट्टै पहिचान बनाई पर्यटकहरु भित्र्याउन सफल भै सकेको छ ।

त्यस्तै वडा २ र ३ मा पर्ने राखुको पनि छुट्टै पहिचान छ जहाँ गाउँपालिकाको केन्द्र मौवाफाँट पनि पर्ने गर्दछ । भगवतीको कोत मन्दिर ऐतिहाँसिक धार्मिक स्थल हो भने वडा नम्बर ३ मा ऐतिहाँसिक ठाउँ रानीपौवा र पवित्र धार्मिक स्थल गायत्रि मन्दिर समेत छ । वडा २ र ३ को यस क्षेत्र तल्लो भु–भाग समथर खेतियोग्य तथा माथिलो क्षेत्र बन जंगलमा पर्छ । वडा नम्बर २ को अधिकाँश क्षेत्र पर्ने वडा नम्बर ३ , १ र ४ को सिमा क्षेत्रलाई समेत समेटीएको रुइसे भेडिओढार पछिल्लो समय चर्चा बटुल्न सफल भएको छ ।

धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रबाट आधा दर्शन बढी हिमालहरुको मनमोहक दृष्यहरु अवलोकन गर्नुको साथै विभिन्न प्रकारका लालीगुराँसहरु देख्न सकिन्छ । रुइसेमा अहिले भ्यु टावर निर्माण हुदैछ र अझै यस क्षेत्रसम्म आहुनका लागि सहज सडक र स्तरीय पदमार्ग र नजीकका बास्तीहरुमा होमस्टे सञ्चालन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

त्यस्तै गरि वडा नम्बर ४ भित्र पर्ने दग्नाम दर्मिजा भित्र पनि एक ऐतिहासिक अस्तित्व बोकेको अजिङ्गर भिर अबस्थित छ । जुन भिरमा अजिङ्गरको छाप प्रस्टै देख्न सकिन्छ । यस भिरमा सानो पदमार्ग छ । अजिङ्गरको छापलाई थप ब्यबस्थित गर्न सकेमा पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने देखिन्छ । भुमे पुजामा लिंगो जुधाउने दग्नामको संस्कृति मुलुकमै मौलिक संस्कृतिमा पर्छ ।

त्यस्तै दर्मिजाको पुछार हुदै बग्ने रघुगंगा नदिको किनारमा प्राकृतिक तातोपानी कुण्ड छ जुन क्षेत्र चर्चामा आउन सकेको छैन । जुन तातोपानीमा स्नान गर्दा धेरै रोगहरु निको हुने जनविश्वास पाईन्छ । गाउँपालिकाको वडा ५                            मा रहेको झिँ गाउँ पनि उत्तिकै सुन्दरीय र रमणीय छ । जहाँबाट गाउँपालिकाका आधा बढी क्षेत्र र घामको पहिलो किरण धौलागिरी हिमालमा देख्न सकिन्छ । यो गाउँ धौलागिरि सेन्चुरी पदमार्ग र टोड्के जाने पदमार्गको पहिलो पर्यटकीय गाउँ समेत हो ,

त्यस्तै वडा ६ मा अबस्थित पाखापानी गाउँ पनि सुन्दर र रमणीय छ । यस वडाबाट पवित्र धार्मिक स्थल मालिका धुरी जाने पदमार्ग पर्छ । पाखापानी वडा भित्र कोटगाउँ पनि पर्छ । कोटगाउँको पनि छुट्टै बिशेषता रहेको छ जुन गाउँ नै मन लोभ्याउने छ । गाउँ प्रवेश गर्ने ठाउँमा लालीगुराँसका जंगलले जो कोहि बटुवालाई सुन्दर रंगी विरंगी प्रवेशद्धार बाटै भित्र छिरेको अनुभुति दिलाउँछ । यसरी नै कोटगाउँदेखि लालीगुराँसका घना जङ्गल हुदै राएखोर पुग्न सकिन्छ ।


जुन उकालो–ओरालो बाटो यात्रा गर्दैगर्दा लागेका सम्पूर्ण थकानहरु हिमालबाट आएको हावामा लालीगुराँसको बास्नाले मेटाउँछ । यात्राको थकान मेटाउन जुराँसे जंगलमा गरिने बिश्रामले स्वर्णिम आनन्द दिलाउँछ । यसरी नै लालीगुराँसको बास्नाले त्यो डेढ घन्टाको उकालो बाटो काटेको पत्तो नपाउँदै राएखोर आई सकिन्छ । राएखोर बाट देखिने चिमखोला तथा कुईनेमङ्गले र हिमशृङ्खला र लालीगुराँसका बनले मन लोभ्याउदै सोच्न बाध्य गराउछ सधैं यहीँ बस्न पाउँ । त्यसैगरी गाउँपालिकाकै विकट मानिने कुईनेमङ्गलेको लागि मुलपानी हुदै जान सकिन्छ । आह मुलपानीका ति मानिसहरू कति ईमानदार र सत्कारी छन् । साच्चै पाहुनालाई भगवान नै मान्ने यस क्षेत्रका नागरिक धन्यबादका पात्र हुन् ।


मुलपानीबाट केही अफ्ट्यारो बाटो झर्दै वडा ८ को कुईनेमङ्गलेको दुवाडी गाउँ साच्चिकै बयान गरि साध्य छैन बिचमा बगेको रघुगंगा नदि माथिबाट जिस्काईरहेको धौलागिरी हिमाल र डाडा काँडानै रङ्गीविरङ्गी बनाएका लालीगुराँसहरुले मन लोभ्याउने गर्छ । साच्चिकै एका तर्फको कुईने गाउँ र अर्को तर्फको मङ्गले गाउँ जोडि नामाकरण गरिएको कुईनेमङ्गले गाउँपालिकाकै विकट वडा मानिए पनि प्रकृतिमा सबैभन्दा धनि छ । दुलेखर्क हुँदै ४० मिनेटमा पुग्न सकिने दुवाडी गाउँको सुन्दरता बयान गरि साध्य छैन । जुन गाउँ पुग्दा धौलागिरि हिमालले स्वागत गरिरहेको आभास दिलाउँछ । त्यस्तै दुवाडीबाट केही समय हिँडे पछि पात्लेखर्क पुग्न सकिन्छ । जुन गाउँ धौलागिरी हिमाल नजीक पर्ने पवित्र धार्मिक स्थल ऋखार जादाँ मानिसको बसोबास भएको अन्तिम गाउँ पनि हो । यस क्षेत्रबाट धौलागिरि हिमालको आधार शिविर समेत पुग्न सकिन्छ ।

 

दुलेखर्खबाट ३० मिनेटको यात्रामा चौरखानी गाउँ पुगिन्छ । यो गाउँ आफैमा भरिपुर्ण छ । चौरखानीदेखि करिब ३ देखि ४ घन्टामा घना जङ्गलको पैदल यात्रा गरेर पुग्न सकिने कुईनेमङ्गलेकै विकट गाउँ कुईने पुग्न मात्रै र्गाहो छ पुगेपछि फर्कन मन नै मान्दैन । चौरखानी देखि कुईने जाने बाटो साच्चिकै ट्रेकिङ गर्नका लागि उत्कृष्ट छ । लाग्छ ति यहाँको प्रकृतिको जति बयान गरेपनि कम हुन्छ । लालीगुराँस तथा लेखमा पाइने बुट्यानहरुको घना जङ्गल वरिपरिका सबै डाडाहरु हिउँदको चिसो याममा अधिकाँश समय सेताम्मे हिउँले ढाकिन्छ । त्यस्तै लालीगुराँसको घना जङ्गलमा मृगहरु चरेको दृश्य, चितुवाको आवाज, तथा अनेक चराचुरुङ्गीले सबै थकाइ मेटाउने गर्छ । मलाई लाग्यो मानिसहरु यहीँ दृश्य देख्न ट्रेकिङ गर्छन ।


यसरी बनको लामो र रमाइलो यात्रा सँगै कुईने गाउँको केही सुन्दर फाँटमा परम्परागत गोठमा बसेर गाईबस्तु हेरेको दृश्यले ग्रामीण जिवनशैलिको यथार्थ अनुभुति दिलाउँछ । त्यस्तै गरि वडा ७ मा अबस्थित चिटिक्क मिलेको चिमखोला गाउँ पनि उत्तिकै रमणीय छ । जुन गाउँलाई अहिलेको चर्चित थालिनाचको उदगमथालो भनेर पनि चिन्न सकिन्छ । धौलागिरि आईसफल र धौलागिरि सेञ्चुरी पदमार्गले समेटीएको यो गाउँ पर्यटकीय सम्भावनायुक्त छ । यहाँ रहेको चिमखोला मण्डली थान भाकल पुरा गर्ने महत्वपूर्ण धार्मिक स्थल पनि हो ।

यहाँ हरेक बर्षको भुमेपुजामा बिशेष पुजा हुने गर्छ भने भुमेपुजामा मौलिक र ऐतिहाँसिक कला संस्कृतिले यो गाउँको चिनारी बनाएको छ । यसरी रघुगंगा गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मकै मुख्य गाउँ ठाउँको स्थलगत भ्रमण बाट रघुगंगाले पर्यटन मार्फत उल्लेख्य लाभ लिन सक्ने सम्भावना पहिल्याएन सकेँ । अझ राखु क्षेत्रमा हुने सुन्तलालाई थप व्यवसायिक बनाउने र सुन्तला खेती हराउँदै गएको समस्या पहिचान गर्ने, माथिल्लो भेगमा हुने आलु, सिमी र कोदो खेतीलाई व्यवसायिक बनाउनतर्फ स्थानीय सरकार र सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्छ । यहाँका हरेक गाउँ पर्यटकीय सम्भावनायुक्त छन् । त्यसलै होमस्टेको अवधारणलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन सकेमा स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सक्छ ।