राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

  • १८ चैत्र २०७५, सोमबार
  • कमल खत्री
  • 2692 पटक पढिएको

कमल खत्री

म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेड र प्राधिकरणबिच आयोजनाबाट उत्पादन हुने विद्युतलाई हिउँदको ६ महिना मुख्य समयमा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र सामान्य समयमा रु ८ रुपैयाँ ४० पैसा तथा बर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसाको दरले खरिद विक्रि गर्ने सम्झौता भएको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले जानकारी दिनुभयो ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक श्रीराम पाण्डेबिच विद्युत खरिद विक्रि सम्झौता( पिपिए) मा हस्ताक्षर भएको सहायक निर्देशक पाठकले बताउनुभयो । बार्षिक २४ करोड ५ लाख ९३ हजार युनिट विद्यूत उत्पादन हुने आयोजनाको विद्यूत खरिद विक्रिमा हरेक बर्ष ३ प्रतिशतका दरले ८ पटक सम्म मुल्य बृद्धि हुनेछ ।


अर्धजलासययुक्त यस जलविद्युत आयोजनाबाट आगामी २०७९ माघ १७ गतेबाट व्यापारिक रुपमा विद्यूत गर्ने लक्ष्य लिईएको छ । कुल ८ अर्व ५९ करोड लागत अनुमान गरिएको यस आयोजनामा भारतीय एक्जिम बैङ्कको सहुलियत ऋण, नेपाल विद्यूत प्राधिकरणको लगानी संगै स्थानीय र सर्वसाधारणले समेत शेयर लगानी गर्न पाउने आयोजनाले जनाएको छ । आयोजनाको सिभिल र हाइड्रो मेकानिकल तर्फको ठेकेदार भारतीय निर्माण कम्पनी जय प्रकाश एशोसियट्ससँग २०७४ मंसिर ५ गते ठेक्का सम्झौता भएपनि गत जेठ देखि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालन भएको थियो । अहिलेसम्म विद्युतगृह रहने तिल्केनीदेखि ड्याम साईटसम्मको करिब १० किलोमिटर सडकको ट्याक निर्माण सम्पन्न भएको छ ।

आबश्यक उपकरणहरु ल्याइसकेको र विष्फोटक पदार्थ खरिदको स्विकृत समेत लिएर सुरुङमार्ग जाने अडिटको काम भैरहेको छ । दग्नाम र झिँको सिमानामा ड्याम रहने आयोजनाको लरेनी, अँधेरीखोला, बगैचा र तिलकिनी गरि चार ठाउँबाट सुरुङमार्ग निर्माण सुरु गर्ने तयारी भएको छ । यस आयोजनामा ६ दशमलब २ किलोमिटर लामो सुरुङमार्ग हुँदै ल्याईने पानीलाई पिप्लेको तिल्केनीचौरमा रहने विद्युत् गृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।


अहिलेसम्म १२ प्रतिशत भौतिक प्रगति भएको यस आयोजनाले इलेक्ट्रो मेकानिक लट दुईको बोलपत्रको प्राविधिक प्रस्ताब मुल्याङ्गनको अन्तिम चरणमा रहेको छ । यो आयोजनामा यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । पुरानो ठेक्का तोडेर प्राधिकरणले सहायक कम्पनी स्थापना गरि नयाँ प्रक्रियाबाट अघि बढाइएको यो आयोजनामा ‘विगत नदोहोरियोस’ भन्ने सरोकारवालाको अपेक्षा छ । स्थानीय तह र समुदायबाट समेत आयोजनालाई सफल बनाउन रचनात्मक वातावरण सिर्जना भएकाले निर्माण कार्यलाई दु्रत गति दिनुपर्ने रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष जिवन कुमार मल्लले बताउनुभयो ।


यसअघि ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० सालमा सकिनुपर्ने थियो । प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनाले पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l