बेनी नगरपालिकाको प्रमुखमा एमालेबाट तीनजनाको नाम सिफारिस

  • ७ बैशाख २०७४, बिहीबार
  • 4516 पटक पढिएको

म्याग्दी, ७ वैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेले तीनजनाको नाम सिफारिस गरेको छ । एमाले नगर संगठन कमिटीले नगर प्रमुख पदमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम सिफारिस गर्न जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।नगरपालिकाको मेयरमा १० जना आकांक्षी देखिएपनि नगर संगठन कमिटीमा भएको छलफलबाट तीन जनाको मात्रै नाम पठाउने सहमती भएको हो ।

नगर प्रमुखको उम्मेदवारको दावेदार तिनै जना जिल्ला कमिटीका सचिबालय सदस्य हुन् । त्यस्तै श्रेष्ठले हाल जिल्ला कमिटीमा आर्थिक विभाग, केसीले प्रचार विभाग र थापाले मोर्चा संगठन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।त्यस्तै नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा मुना बानियाँ, दुर्गा कार्की र पशुपती शाहीको नाम सिफारिस गर्ने निर्णय भएको एमाले म्याग्दीले जनाएको छ ।

उप्रमुखका दाबेदारहरुमध्ये बानियाँ राष्टिय प्रतिनिधी परिषद सदस्य, कार्की अनेमसंघको पूर्व जिल्ला सचिब र शाही जिल्ला कमिटी सदस्य हुन् । नगर संगठन कमिटीबाट आएको सिफारिसलाई जिल्ला कमिटी बैठकमा थप छलफल गरि उम्मेदवारको टुंगो लगाउनका लागि प्रदेश कमिटीमा पठाउने तयारी गरेको एमाले जिल्ला उपाध्यक्ष देवेन्द्र केसीले बताउनुभयो ।