स्थानीय तहको निर्वाचनमा कस्तालाई रोज्ने ?

  • ७ बैशाख २०७४, बिहीबार
  • सन्दिप खत्री
  • 3829 पटक पढिएको

चिया पसलदेखि भट्टी पसलसम्म, किराना पसलदेखि सुन पसलसम्म, गाउँदेखि शहरसम्म, सामान्य जनतादेखि नेतासम्म, विद्यार्थीदेखि प्राध्यापकसम्म जताततै स्थानीय तहको निर्वाचनको चर्चाले छोएको छ । अझ भनौ यी सबै पक्षलाई निर्वाचनको बहसले तताएको छ । म्याग्दीका जनताहरु पनि यस प्रकारको बहस गर्न थालेका छन् । पहिलो कुरा त निर्वाचन हुन्छ की हुँदैन ? भन्ने कुरा मै आशंका व्यक्त गरिरहेका छन् । त्यसपछि कुन ठाउँमा कुन पार्टीको पहुँच कस्तो छ ? कसले टिकट पाउँछ ? कसले चुनावमा बाजि मार्छ ? यस्तै यस्तै विषयमा बहस केन्द्रित भएका छन् ।
म्याग्दीमा क्रियाशिल दलहरु पनि आफ्नो उम्मेदवार चयनमा व्यस्त छन् । नेपाली काँग्रेसले केही ठाउँमा गाउँपालिका र वडा अध्यक्षको उम्मेदवार घोषणा गरि सकेको छ । एमालेले पनि केही वडा अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको छ । नेकपा (माओवादी केन्द्र) आगामी बैशाख ९ गते सबै उम्मेदवार घोषणा गर्ने बताए पनि केही वडाहरुमा उम्मेदवारी घोषणा भएका छन् । अन्य साना दलहरुले पनि आफ्ना उम्मेद्वारहरुको नाम प्रकाशनको तयारीमा छन् । स्थानीय तहको निर्वाचन भएकोले पनि निर्वाचन कडा हुने प्रष्ट छ । टोल टोलमा घरदैलोको अभियान समेत सञ्चालन हुन थालेका छन् ।
गणतन्त्र नेपाल र संघीय संरचना अनुसारको पहिलो स्थानीय तहको निर्वाचन भएकोले पनि यसलाई सबैले चासोका साथ लिएका छन् । लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदैछ यो सत्य हो तर, २० वर्ष अघि भएको निर्वाचनको सिलसिला भनेर बुझ्नु गलत हुनेछ । हामीले बुझ्नु पर्ने कुरा के छ भने २० वर्ष अघि भएको स्थानीय तहको निर्वाचन र यो निर्वाचनमा आकाश र पातालको फरक छ । त्यसैले पनि यसलाई पहिलो निर्वाचन भनिनु पर्छ । काठमाण्डौको सिंह दरबार गाउँ गाउँमा आउँदैछ । जनताको चाहना बमोजिमको स्थानीय सरकार बन्दैछ । यस कारण पनि यस अघि भएका निर्वाचनहरुको सिलसिलाको रुपमा यसलाई हेरियो भने कागलाई बेल पाक्यो हर्र्ष न विस्मात भने झै हुनेछ । नयाँ संरचना, नयाँ परिवेश, नयाँ परिस्थितिमा हुन लागेको स्थानीय निर्वाचनले विकासको मूल फुट्नेमा जनता विश्वस्त छन् ।
स्थानीय निर्वाचन हुँदैछ भनेर हामी उत्साहित छौ । तर कस्तो उम्मेदवार छान्न सक्यौ भने मात्रै काठमाण्डौको सिहंदरबार आफ्नै ठाउँमा आएको महसुस गर्न सक्छौ अब ध्यान त्यतातर्फ दिन जरुरी छ । राष्ट्रिय स्तरको निर्वाचन र बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन विल्कुलै फरक छ भन्ने कुरालाई पनि हामीले नजरअन्दाज हुँदैन । यस कारण पनि योग्य उम्मेद्वार छान्न सक्नुपर्छ । कुनै पनि पार्टीको अन्धभक्त भएर होईनकी स्पष्ट दृष्टिकोण बोकेका राजनीतिक दल, गाउँलाई परिवर्तन गर्न सक्ने व्यक्ति, राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवाको भावना बोकेको मानिसलाई निर्वाचनमा विजयी गराउनुपर्छ ।
हामीकहाँ अझै पनि उच्च खालको राजनीतिक संस्कारको विकास भई सकेको छैन् । हामी जनताहरु कुनै एउटा दललाई समर्थन गर्न थाल्यौ भने उसका हरेक गतिविधि राम्रा लाग्छन्, चाहे उसले ठूलै अपराध नै किन नगरोस् फेरि पनि हामी उसैलाई नै समर्थन गरेका हुन्छौ । हाम्रो लागि सबै भन्दा ठूलो दुर्भाग्य भनेको यही नै हो । फलस्वरुप राम्रो नेता छनौट गर्न सक्दैनौ । स्पष्ट भिजन भएका मानिसहरु सधै पछि नै हून्छन् । यो पार्टी, त्यो पार्टी, यो मान्छे, त्यो मान्छे भनेर होईन जसले गाउँको भविष्य उज्ज्वल बनाउन सक्छ, जसलाई नेतृत्वमा ल्याउँदा हाम्रो भन्ने भाव पैदा गराउन सक्छ, त्यही मान्छेलाई आफ्नो नेता बनाउनुपर्छ ।
राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने संस्कारको कहिल्यै पनि विकास भएन । हुन त पीडा यस्तो पनि छ । जसले आफ्नै पार्टीको गलत कार्यको विरुद्धमा आवाज उठाउँछ, उ विरोधी नेता बन्छ । पार्टीबाट सिधै पछि । यस कारण पनि उ चुप वस्छ । अनि उसका पछि लाग्ने जनताहरु पनि तै चुप मै चुप । अनि कसले बोल्ने गलतका विरुद्ध । त्यसमा पनि सोझा र साझा नेताहरुको स्थिति के हुन्छ भन्ने कुरा म्याग्दीका केही दलहरुमा हे¥यौ भने पनि प्रष्ट हुन्छ ।
अब म्याग्दीकै बारेमा थोरै चर्चा परिचर्चा गरौ । जनताको घर घरमा भन्दा सामाजिक सञ्जालमा धेरै राजनीति छाएको छ । सामाजिक सञ्जाल हेर्दा काम गर्ने मानिसहरु भन्दा पनि गफ गर्नेहरु उम्मेदवार बन्ने हुनकी भन्ने संकेत गर्छ । जो वास्तवमै जनताको सेवा गर्छन् । जनताको पीडा बुझेका छन् । गाउँ घरको विकासको सम्भावना देखेका छन् । ती मानिसहरु गुमनाम छन् । जो अलि टाईफाई गर्छ । गाउँमा भन्दा शहरमा धेरै समय विताउँछ । अझ भनौ शहरमा बसेर गाउँको भविष्य बनाउन खोज्छ ती मानिसहरुको हालीमुहाली देखिन्छ । यस मानेमा पनि आम मतदाता सजग र सचेत हुन आवश्यक छ ।
उम्मेदवारकै कुरा गरिरहँदा म्याग्दीमा क्रियाशिल काँग्रेस, एमाले, माओवादी केन्द्रबाट युवा आकांक्षीहरुको संख्या पनि कम छ्रैन् । के साँच्चै यी पार्टीहरुले योग्य र सक्षम युवाहरुलाई उम्मेदवार बनाउँछन त ? त्यो हेर्न बाँकी छ । काँग्रेसले मालिका गाउँ पालिकामा युवा उम्मेदवार घोषणा गरिसकेको छ । काँग्रेसीजनहरुका लागि यो खुसीको कुरा हो । किन भने युवाहरुले कहिल्यै पनि अवसर पाउँदैनन् भन्ने काँग्रेसमा युवाहरुले पनि अवसर पाएका छन् ।
जसले आकांक्षा राखेपनि अन्ततः टिकट दिने भनेको पार्टीले नै हो । जबसम्म पार्टीले पत्याउँदैन जतिसकै बलियो जनाधार, विश्वास भएपनि काम छैन् । हामी स्वतन्त्र भन्ने त कोही छदै छैनौ भने पनि अतियुक्ति नहोला । अब कुरा रह्यो पार्टीले कस्तो व्यक्तिलाई टिकट दिन्छन्, त्यसमा पनि भर पर्छ । तसर्थ राजनीतिक दलहरुले उम्मेदवार छनौट गर्दा निकै ध्यान पु¥याउनुपर्ने स्थिति आएको छ । चाहे जुनसुकै पार्टीले जितोस् तर सक्षम, सवल र योग्य उम्मेदवारले जित्नुपर्छ ।
हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन कसरी हुन सक्छ अबको बहस यतातर्फ हुनुपर्छ । अबको उम्मेदवारको योजना भनेको गाउँमा पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा विकास गरि आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने हुनुपर्छ । नकी खानेपानीको धारा, विजुलीको पोल, मासु, रक्सी बाडेर चुनाव जित्नेमा होईन । म्याग्दीमा काँग्रेस, एमाले र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने छ । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो भएको माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भएपछि माओवादीलाई कमजोर शक्तिको रुपमा हेरिएको छ । पार्टीगत रुपमा हेर्दा काँग्रेस र एमालेको प्रतिस्पर्धा तिव्र हुन्छ यद्यपी माओवादीको पक्षमा पछिल्लो समय बन्दै गएको माहोलले भने काँग्रेस एमालेलाई जित सहज छैन् ।
अन्त्यमा, गणतन्त्र नेपालको संघीय संरचना अनुसारको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु पनि हामी माझ चुनौति छ । निर्वाचन हुन नदिने विभिन्न षड्यन्त्रहरु पनि रचिँदैछन् । निर्वाचन नहुनु भनेको हामी अझै पछाडि पर्नु हो । निर्वाचन सम्पन्न गर्नका लागि सबैले आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । हाम्रो भविष्य निर्माण गर्ने हामी आफैले हो । हामीले जस्तो नेता छनौट गर्छौ त्यसमा हाम्रो भविष्य निर्भर रहन्छ । तसर्थ हाम्रोको पछि लागेर होईन राम्रो पक्षमा मतदान गरौ । आफ्नो गाउँ, नगर आफै निर्माण गरौ ।

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l