स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 1543 पटक पढिएको

सन्तोष गौतम
बेनी ७ फागुन । म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

१०४ वर्षे जहानीया राणा शाषनको अन्त्य भएर प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा साँझ गाउँपालिका र वडा कार्यालयहरुमा दिपावली समेत गरिएको अध्यक्ष पुनले बताउनुभयो । ४ नम्बर वडा मुदी र खिवाङमा सरसफाई भएको छ । मुदीका वडा अध्यक्ष बेगप्रसाद घर्तीको नेतृत्वमा वुद्धि विकास मावि, स्वास्थ्य चौकी, युवा कल्व र आमा समूहहरुको सहभागितामा ५ वटा समूह बनाएर सबै बस्तिमा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र स्थानीयबासीले सरसफाई गरेका वुद्धिविकास माविका शिक्षक चिरञ्जिवी पौडेलले जानकारी दिनुभयो ।

खिवाङको चन्द्रज्योति माविमा पनि सरसफाई भएको छ । मराङका जनविकास मावि लगायतका स्थानमा पनि सरसफाई गरिएको छ । ताकममा ७ नम्बर वडाका अध्यक्ष कलानिधी सुवेदीको नेतृत्वमा ताकम माविका शिक्षक विद्यार्थी र स्थानीयबासीहरुले गाउँ सरसफाई गरेका ताकमबाट गोपाल आचार्यले जानकारी दिनुभयो । 

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा प्रभातफेरी र कोणसभा गरेर प्रजातन्त्र दिवस मनाइएको छ । प्रभातफेरीले पोखरेबगर बजार परिक्रमा गरेपछि गाउँपालिकाको कार्यालय परिसरमा भएको कोणसभामा अध्यक्ष डमबहादुर पुनले अहिलेको संघीय गणतन्त्रको आधार प्रजातन्त्र भएको बताउनुभयो ।

सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, नेकपाका प्रतिनिधि खड्ग गिरि, वडाअध्यक्षहरु ओमप्रकाश फगामी र कृष्णप्रसाद बरुवालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिका र ज्ञानोदय माविले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय सरोकारवाला सहभागी प्रभातफेरी ¥यालीले मौवाफाँट परिक्रममा पश्चात विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रजातन्त्रको मुल्य मान्यतालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका निमिक्त प्रअ आकृति सुवेदी रेग्मीले नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना सम्म धेरै नेपालीको त्याग, बलिदान र योगदान रहेको स्मरण गर्दै प्रजातन्त्रको मान्यता सबै व्यक्ति र संस्थामा व्यवहारिक रुपमा लागु गर्न सके मात्रै दिवसको औतित्य हुनेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टिका बहादुर शाहीको स्वागत र कार्यक्रम अधिकृत पदम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।